काठमाडौं – त्रिवि शिक्षण अस्पताल महाराजगन्जको ओपीडी काउन्टरमा रहेकी जमुना श्रेष्ठ एक्लैले विगतमा ३ सय जनासम्मको टिकट काट्थिन्। उनले शुक्रबार भने नयाँ १८ र फलोअप ७५ जनाको टिकट काटिन्। त्यस दिन नयाँ बिरामी जम्मा १ सय जना भए, फलोअपमा आउनेको संख्या १ सय ४० पुग्यो। विगतको शुक्रबार १५ सयको हाराहारीमा बिरामी आउँथे।
लकडाउनका बेला यातायात सेवा ठप्प हुँदा र कतिपय अस्पतालमा उपचार गराएकाहरू कोरोना संक्रमित देखिँदा अन्य रोगका बिरामी हत्तपत्त उपचार गर्न जाँदैनन्। कोभिडको उपचार गर्ने अस्पतालमा अन्य रोग लागेका व्यक्ति उपचार गर्न नआउने पाइएको त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक रोहितकुमार पोखरेलले बताए।
त्यसो त मुलुकभरका अस्पतालमा आकस्मिकबाहेकका शल्यक्रिया नै ठप्प छ। यही कारण आन्तरिक स्रोतबाट खर्च धान्नुपर्ने सरकारी, सामुदायिक एवं निजी अस्पतालमा आर्थिक समस्या देखिन थालेको छ। त्रिवि शिक्षण अस्पताल र कान्ति बाल अस्पतालले आम्दानी घटेको जनाएका छन्। निजी क्षेत्रका अस्पतालले पनि बिरामी भर्ना नहुँदा आम्दानी घटेको, कोभिड(१९ को व्यवस्थापकीय तयारीका क्रममा खर्च बढेको उल्लेख गरेका छन्।
ह्याम्स अस्पतालका अध्यक्ष रामशरण भण्डारीका अनुसार बिरामीको संख्या ८० प्रतिशतले घटेको छ। कोभिडका कारण अस्पतालको व्यवस्थापन खर्च बढेको उनले सुनाए। ‘बिरामी नआउँदा आम्दानी घटेको छ’, उनले भने, ‘उपचारका सबै सेवा चुस्तदुरुस्त छ। हामी कोभिड र अन्य रोगका सबै बिरामीको उपचार गर्छौं।’
लकडाउनको तीन महिना अवधिमा कुल आयमा ९० प्रतिशतभन्दा बढीले ह्रास आएको निजी अस्पतालको छाता संस्था एसोसियसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल ९अफिन०ले जनाएको छ। खर्च भने २० प्रतिशतले बढेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वार्षिक प्रतिवेदनअनुसार चालू वर्ष सरकारी अस्पतालबाट १३ लाख ३२ हजार ६ सय ९७ जनाले ओपीडी सेवा लिएको देखिन्छ।
निजी, गैरसरकारी, सहकारी तथा सामुदायिक अस्पताललाई सरकारले कोरोना शंकास्पद र संक्रमितको उपचार गर्दा लागेको खर्चबापत अनुदानको व्यवस्था गरेको छ। सरकारले कोभिड(१९ संक्रमणको उपचार निःशुल्क गरिरहेको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताए।
स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। वासुदेव पाण्डेले कोभिड(१९ का बिरामी मात्र नभई अन्य रोगका बिरामीको पनि उपचार व्यवस्था मिलाइएको बताए। ‘कोरोना भाइरसका बिरामीलाई प्राथमिकता दिइएको हो’, उनले भने, ‘अन्य रोगका बिरामीको पनि उपचारमा समस्या नहोस् भन्नेतर्फ सचेत छौं।’
FACEBOOK COMMENTS