काठमाडौं, बैशाख २५- आइतबारदेखि धितोपत्र बजार सञ्चालन हुने भएको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले बैंक तथा बिमा, धितोपत्र, सहकारी संस्थाहरुमार्फत अति आवश्यकीय सेवा प्रवाह गर्नका लागि आवश्यक पर्ने कर्मचारीमध्ये बढीमा एक तिहाई कर्मचारीले सेवा संचालन गर्न सक्ने निर्णय गरेको हो। यसको लागि आवश्यक पर्ने कर्मचारीलाई सरकारले पासको ब्यबस्था गर्ने भएको छ ।
सरकारको यो निर्णयसँगै आगामी आइतबारबाट शेयर कारोबार खुल्ने भएको हो ।नेपाल स्टक एक्सचेन्च प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले आइतबारबाट कारोबार खुला गरिने भएता पनि त्यसको मोडालिटीबारे तय भई नसकेको बताएका छन् । कारोबार गर्न एक तिहाइ कर्मचारी मात्रै राख्नु पर्ने भएकोले त्यसको लागि भने कति समय खोल्ने भन्ने तय नभएको साउदले बताए ।
यस अघि नै नेप्सेले ब्रोकर कम्पनी,सिडिएससि र सरोकारवालाहरू सँगको छलफल पछि बजार खोल्न सकिने भन्दै बोर्डलाई पत्र लेखेको थियो। तर बोर्डले अझै पत्रको उत्तर भने दिएको छैन।
पत्रमा बजार सञ्चालनको समय दुई घण्टामा सीमित गर्ने, अनलाइन कारोबार मात्रै सञ्चालन गर्ने, प्रत्येक ब्रोकर कम्पनीलाई पाँच वटा पासको व्यवस्था गर्ने लगायत उल्लेख छ।
FACEBOOK COMMENTS