काठमाडौं, पौष ६ – चीनको साङ्घाइमा यहि डिसेम्बर १६ देखि डिसेम्बर १८ सम्म आयोजना गरिएको ‘ईसीआई अवार्ड २०२०’ समारोहमा ‘ईसीआई मार्केटिङ्ग इनोभसन अवार्ड’ आउटरिच नेपालले जितेको छ ।
यो अवार्ड आउटरिचले गरेको बेसिक ह्युम्यानिटी प्रचार अभियानको लागि प्राप्त भएको हो । आउटरिचले विश्वव्यापी रुपमा फैलिएको महामारीकै बीच सम्पूर्ण विश्व सीमित स्रोतहरुका साथ घरभित्र थुनिएर बस्न बाध्य भएको समयमा यो अभियान शुरु गरेको थियो ।
इसिआइ अवार्डको स्थापना इन्टरनेशनल इन्टरप्रिन्र्स, क्रिएटिभ्स एण्ड इनोभेटर्स एसोशिएसनद्वारा गरिएको हो । ईसीआईले नवीन सिर्जनाको प्रभावकारितालाई आधार बनाई विश्व भरिका डिजीटल बिज्ञापनहरुको तुलना गरि यो अवार्ड प्रदान गर्ने गर्दछ ।
उक्त समारोहमा आउटरिच नेपालको तर्फबाट अवार्ड ग्रहण गर्दै एशियन फेडरेसन अफ एडभरटाइजिङ्ग एसोसिएशन्सका अध्यक्ष रेमण्ड सोले अभियानको प्रशंसा गर्दै भने ‘म बेसिक ह्युम्यानिटी जस्तो प्रेरणदायी अभियानको लागि उजय र उनको टिमलाई हार्दिक बधाई दिन चाहन्छु, जुन अभियानलाई विभिन्न देशहरुमा अत्यन्त सकारात्मक तवरमा ग्रहण गरिएको तथा स्विकारिएको थियो । यो अभियान तात्कालिन परिप्रेक्ष्यमा अति नै सान्दर्भिक थियो । यो बेसिक ह्युम्यानिटी अभियानले समानुभूतिको सन्देशलाई अगाडी बढाएको थियो ।’
यसैगरी इसिआइ अवार्डका डाक्टर ओवेन जीयाले यस कार्यले सीमा वा संस्कृतिको परिधिमा नरही विश्वभरका मानिसहरुमा समान रहेको समस्याहरुलाई भावनात्मक रुपमा लक्षित गरेको बताए ।
नेपाल विज्ञापन एजेन्सी संघका अध्यक्ष रविन्द्र कुमार रिजालले अन्तर्राष्ट्रिय परिदृश्यमा यसप्रकारको सम्मान प्राप्त गर्नु नेपाली विज्ञापनहरुको लागि एक महत्वपूर्ण उपलब्धि भएको बताए । यसले विज्ञापनको भविष्य एक सकारात्मक दिशातर्फ उन्मुख भैरहेको छ भन्नेमा आश्वस्त बनाएको पनि बताए ।
आउटरिच नेपालका संस्थापक तथा प्रबन्ध निर्देशक उजय शाक्यले देशको आफ्नै किसिमको मौलिक सृजनात्मक शैली हुने र अन्तर्राष्ट्रिय बिज्ञापन मात्र मन छुने खालका हुन्छन्, नेपाली बिज्ञापनमा त्यो खालको स्तर छैन भन्ने आलोचकहरुको लागि यो अवार्ड नै एउटा उदाहरणको रुपमा प्रस्तुत भएको बताए ।
सारा विश्व सिमित स्रोत तथा खुम्चिएको आम्दानीका साथ घरभित्र बन्द भएको बाध्यात्मक परिस्थितिमा आफुले बनाएको ब्यञ्जनको आकर्षक तस्विर सामाजिक सन्जालमा राख्नु उचित हुँदैन भन्ने लागेर एउटा सानो पहलको थालनी गरेको पनि बताए । उनले परिकार प्रस्तुत गर्ने प्रयोगकर्ताहरुलाई सामाजिक सञ्जालमा त्यसप्रकारको व्यञ्जन नराख्न आग्रहका साथ बेसिक ह्युम्यानिटी अभियान अघि बढाएको र जसलाई विश्वभर रुचाइएको बताए ।
सम्भवतः नेपालबाट पहिलो पटक ‘बेसिक ह्युम्यानिटी’ अभियानको प्रारम्भ भएको र पछि विभिन्न ६ राष्ट्रहरुले स्वस्पूmर्त रुपमा ८ भिन्नभिन्न भाषामा अनुवाद गरेर प्रकाशन गरेका थिए ।
FACEBOOK COMMENTS