काठमाडौं, वैशाख १९ । नेपाल सरकारले आगामी आर्थिक वर्षदेखि लागू हुने गरेर श्रमिकको न्यूनतम पारिश्रमिक बढाउने बताएको छ । प्रधानमन्त्री केपीशर्मा ओलीले हिजो अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सम्बोधन गर्दै न्यूनतम पारिश्रमिक बढाउने बताएका हुन् ।
उनले भने, ‘गत आर्थिक वर्ष नै नेपाली श्रमिकको न्यूनतम पारिश्रमिक बढाउनुपर्ने थियो । तर, विश्वव्यापी महामारीका कारण बढ्न सकेन ।’ त्यसैले गत वर्ष नेपालका ट्रेड युनियन र श्रमिकले देखाएको समझदारी यो वर्ष उद्योगी/व्यवसायीले देखाउनुपर्ने उनको भनाई थियो ।
‘अघिल्लो वर्ष महामारीका कारण श्रमिकले पारिश्रमिक बढ्दैन भन्दा सहमती जनाएकाले यो वर्ष व्यवसायी र उद्योगीले पारिश्रमिक बढ्छ भन्दा सहमती हुनुपर्छ ।’, प्रधानमन्त्री ओलीले भने ।
उनले उद्योगी÷व्यवसायी र श्रमिकबीच आपसी समझदारी नबन्दा सरकारले पारिश्रमिक तोक्ने बताएका छन् । खासगरी, सरकारले दुवै पक्षलाई आपसी समझदारी गरेर आउन भनेपनि श्रमिकले बढी पारिश्रमिक तोक्नुपर्ने माग गरेका थिए ।
यसैगरी, उद्योगी/व्यवसायीले केही प्रतिशतले मात्रै बढ्नुपर्ने अडान राखेकाले सरकारले दुवै पक्षको अडानबाट नयाँ पारिश्रमिक मूल्य तोकेको छ । जुन, दुवै पक्षले तोकेको पारिश्रमिकको मध्यविन्दु हो ।
आगामी आर्थिक वर्ष २०७८/७९ बाट लागू हुने नयाँ पारिश्रमिक दर अनुसार मासिक न्यूनतम पारिश्रमिक १५ हजार रुपैयाँ पुग्ने छ । हाल महिनाको न्यूनतम पारिश्रमिक १३ हजार ४५० रुपैयाँ छ ।
यसैगरी, दिनको न्यूनतम पारिश्रमिक ५१७ बाट बढेर ५७७ रुपैयाँ पुग्ने छ भने घन्टाको न्यूनतम पारिश्रमिक बढेर ६९ रुपैयाँबाट ७७ रुपैयाँ पुग्ने छ ।
FACEBOOK COMMENTS