काठमाडौं, १७ कार्तिक – रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आजीवन राष्ट्रपति नबन्ने दुर्लभ संकेत दिएका छन् । अहिले एउटा नयाँ कानून रुसी संसदमा हतारहतार गरी पारित गराउन खोजिँदैछ । त्यसले पुटिनलाई राष्ट्रपति पद त्यागेपछि पनि आजीवन सांसद बन्ने बाटो खोल्नेछ ।
नयाँ कानूनको मस्यौदा पुटिन आफैंले ल्याएका हुन् । यसले उनलाई आजीवन कानूनी उन्मुक्ति र राज्यको सुविधा उपलब्ध गराउनेछ ।
यसले रुसमा शक्ति हस्तान्तरणका लागि बाटो खोलेको संकेत दिएको रुसको सरकारी सञ्चारमाध्यम आरटीले भविष्यवाणी गरेको छ । राष्ट्रपति पद छोडेको तीन महिनाभित्र पुटिन र उनीपछिका सबै राष्ट्रपतिलाई माथिल्लो सदन फेडरेसन काउन्सिलको आजीवन सदस्य बनाउने अनुमति यस कानूनले दिनेछ ।
‘बेलायतको माथिल्लो सदन हाउस अफ लर्ड्सको लाइफ पीयर्स प्रणालीलाई रुसले अनुकरण गरेको हो,’ एक स्रोतले बतायो । पुटिनले चार महिनाअघि संविधान संशोधन गरेर सन् २०२४ मा नयाँ कार्यकाल चलाउन पाउने अनुमति सुरक्षित गरेका छन् ।
FACEBOOK COMMENTS