पोखरा,मंसिर १४ – कास्की क्षेत्र नं २ मा आज बिहान ७ बजेदेखि प्रतिनिधिसभा सदस्य पदका लागि मतदान शुरु भएको छ । यस क्षेत्रमा ३२ मतदानस्थलका ८२ मतदान केन्द्रमा निर्धारित समयमै मतदान शुरु भएको जिल्ला निर्वाचन कार्यालय कास्कीका प्रमुख महेन्द्रराज सुवेदीले जानकारी दिनुभयो ।
प्रायः सबै मतदान केन्द्रमा मतदाता बिहानैदेखि मतदान गर्न लामबद्ध भएका छन् । बिहानको समयमा धेरै बेर मतदान गर्नका लागि कुर्न नपर्नुपर्ने उद्देश्यका साथ कतिपय मतदाता बिहानै मतदान गर्न आएका हुन् । यसैबीच, मतदानस्थलमा सुरक्षाको व्यवस्था कडा बनाइएको छ ।
आज प्रतिनिधिसभा, प्रदेश सभा र स्थानीय तहमा गरी ५२ पदका लागि उपनिर्वाचन भइरहेको छ।निर्वाचन आयोगका अनुसार १६ वटा नयाँ दर्ता भएका दलसमेत १ सय १ दल उपनिर्वाचनमा छन्। प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यमा ९५ दल र स्थानीय तहमा ७८ दलले उपनिर्वाचनमा भाग लिएका छन्।
आयोगका अनुसार उपनिर्वाचनमा मतदाताको संख्या ४ लाख ५४ हजार १ सय १४ छ। मतदानका लागि २ सय ४७ मतदान स्थल र ५ सय ३७ मतदान केन्द्र तोकिएका छन्।
FACEBOOK COMMENTS