काठमाडौं,फागुन ६ – काठमाडौं उपत्यकामा मङ्गलबार दिनभरी नै तुवाँलो लाग्ने भएको छ । सामान्यतया वायुमण्डलको तल्लो तहमा तातो हावा र माथितिर तहमा चिसोको हावाको मात्रा बढ्दै जानुपर्नेमा त्यसको उल्टो सतहमा चिसो र माथितिर तातो हावा रहेको कारण तुवाँलो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज पूर्वी पहाडको केही ठाउँमा पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । नेपालको माथिल्लो वायुमण्डलमा पश्चिमी वायु तथा पूर्वी भेगमा न्यून चापीय प्रणालीको असर देखिएको छ । यही असरका कारण पहाडी भेगमा दिनभर बदली भइ पूर्वी पहाडका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् विभूति पोखरेलले बताए ।
यस्तै गरी बुधबार र विहीबार देशभरि नै बादल लागेर पहाडका धेरैजसो ठाउँमा सामान्य पानी पर्ने संभावना रहेको मौसमविद्ले बताएका छन् । पानी परेपछि मात्र मौसम सफा हुने छ ।
FACEBOOK COMMENTS