काठमाडौं, वैशाख १३ – आज प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको २२औं स्मृति दिवस मनाइँदै छ । कोभिड–१९ को संक्रमणका कारण यस वर्ष विगतमा जस्तो औपचारिक कार्यक्रम नराखिए पनि अनौपचारिक रुपमा यो दिवसलाई मनाइँदै छ ।
नेपाली कम्युनिष्ट आन्दोलनका शिखर पुरुष भनेर चिनिने अधिकारी नेकपा (एमाले) का संस्थापक अध्यक्ष एवं प्रथम कम्युनिष्ट प्रधानमन्त्री समेत हुन् । उनको स्मृतिमा नेकपा (एमाले) र मनमोहन स्मृति प्रतिष्ठानले हरेक बर्ष काठमाडौंमा विशेष कार्यक्रम आयोजना गर्ने गर्दै आएका थिए ।
स्मृति दिवसका अवसरमा सन्देश दिँदै उपप्रधानमन्त्री एवं मनमोहन प्रतिष्ठानका अध्यक्ष ईश्वर पोखरेलले स्वर्गीय अधिकारीले स्थापित गरेका आदर्श, सिद्वान्त र मूल्य मान्यता कम्युनिष्ट पार्टीका हरेक सदस्यका लागि आज पनि उत्तिकै अनुकरणीय र सान्दर्भिक रहेको बताएका छन् । ‘सरल, शालिन र सादगी जीवन नेपालको कम्युनिष्ट आन्दोलनमा उहाँले स्थापित गर्नुभएका अत्यन्तै मूल्यवान गुणहरु हुन्,’ उपप्रधानमन्त्री पोखरेलले जारी गरेको प्रेस विज्ञप्तिमा लेखिएको छ ।
स्वर्गीय अधिकारीले नेपालको विभाजित कम्युनिष्ट आन्दोलनलाई एकताबद्व बनाउन महत्वपूर्ण अभिभावकीय भूमिका खेलेको उल्लेख गर्दै पोखरेलले भनेका छन्, ‘आजको यस विशेष दिनले नेकपा (एमाले)का सम्पूर्ण नेता–कार्यकर्ताहरुलाई एकढिक्का भई पार्टी काममा सक्रिय रहन उर्जा प्रदान गरोस् भन्ने कामना गर्न चाहन्छु ।’
पूर्वप्रधानमन्त्री अधिकारीको २०५६ साल वैशाख १३ गते निधन भएको थियो ।
FACEBOOK COMMENTS