काठमाडौं, भदौ ३ – काठमाडौं उपत्यका भित्रका तीनवटै जिल्ला प्रशासनले आज राति १२ बजेबाट लागू हुने गरी निषेधाज्ञा जारी गरेका छन्। बुधबार तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा गर्ने निर्णय गरेका हुन्।
यो लकडाउन भन्दा धेरै कडा हुन्छ, ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले भने, यसमा लकडाउनमा जस्तो सम्झाउने बुझाउने मात्र होइन, सोझै कारवाही हुन्छ।
निषेधाज्ञाको समयमा निजी तथा सार्वजनिक सवारी साधन गुडाउन पाइने छैन। तर, अत्यावश्यक सामाग्री, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीका सवारी साधन भने गुड्नेछन्। त्यस्तै, औषधि, इन्धन, तरकारी फलफूल, विद्युत्, दूध, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन, अस्पतालमा आउन-जान र मृत्यु संस्कारमा सहभागी हुनका लागि प्रयोग गर्ने सवारी सञ्चालन गर्न भने रोक लगाइएको छैन।
अत्यावश्यक बाहेक निषेध गरिएका सवारी साधन गुडाउन पाइने छैन। हामी कडाइका साथ कार्यन्वयन गर्छौ, महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी भीमप्रसाद ढकालले भने।
सरकारले काठमाडौं उपत्यका लगायत २ सय भन्दा बढी एक्टिभ संक्रमित भएको जिल्लामा निजी तथा सार्वजनिक सवारी साधनमा जोरबिजोरको आधारमा सवारी संचालन गर्दै आएको थियो। लामो दुरीका सार्वजनिक सवारी साधन चैतको पहिलो साताबाट बन्द नै छन्।
FACEBOOK COMMENTS