काठमाडौं, पुस २७ – राष्ट्र निर्माता तथा एकीकरण कर्ता पृथ्वीनारायण शाहको जन्मयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आइतबार विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ ।
विसं १७७९ मा गोरखामा जन्मनु भएका पृथ्वीनारायणले २२ से र २४ से राज्यमा विभाजित नेपाललाई एकीकरण गर्नु भएको थियो । सात महिनामा तन्त्रविधिबाट उहाँको जन्म भएको थियो ।
पृथ्वी नारायणले जीवनमा तीन वटा युद्धमा मात्र हार भोग्नुपरेको पृथ्वीनारायण शाहको योगदानका विषयमा अनुसन्धानरत हरिप्रसाद सोडारीले बताउनु भयो । विसं १८०० मा नुवाकोटमा पहिलो पटक आक्रमण गर्दा उहाँ पराजित हुनु भएको थियो । उहाँ विसं १८०१ मा नुवाकोटमा विजयी हुनुभयो ।
यसैगरी कीर्तिपुरमा पनि उहाँ दुई पटक पराजित हुनु भएको थियो । विश्वमा विजयी भइ उपनिवेश चलाउन सफल अङ्ग्रेज सेना उहाँको नेतृत्वमा पराजित भएको थियो । अङ्ग्रेजले समेत हराउन नसकेको मुगल सेनालाई पृथ्वीनारायणले विसं १८१९ मा मकवानपुरमा पराजित गर्नु भएको थियो । यसपछि भारतमा उपनिवेश चलाइ रहेका अङ्ग्रेज पनि उहाँसँग डराएका थिए ।
शाहले ‘व्रतरत्न माला’ नामक कृति लेख्नु भएको थियो । यसैगरी उहाँका तीन कविता पनि प्रकाशित भएको सोडारीले सुनाउनु भयो । ‘दिव्योपदेश’ भने पृथ्वीनारायण शाहका भनाइ हुन् । जसलाई पछि कृतिका रुपमा प्रकाशित गरिएको हो ।
नेपालको भौगोलिक एकीकरण गरेर यो भूमिका लागि महत्वपूर्ण योगदान दिनुभएका शाहको निधन विसं १८३१ माघ १ गते नुवाकोटको देवीघाटमा भएको थियो । पृथ्वी जयन्तीमा पहिले सार्वजनिक बिदा दिने गरिएकामा अहिले कटौती गरिएको छ । तर यो अवसरमा फेरि बिदा दिइ देशभर उत्सव मनाइनु पर्ने माग हुन थालेको छ ।
FACEBOOK COMMENTS