काठमाडौं, कार्तिक १० – यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ ।
यसरी गर्नुहोस् लक्ष्मीपूजा
सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफा सुग्घर र गाईको गोबर एवं रातोमाटोले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भर्याङलगायतका स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ ।
पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्ज्वलन गरी झिलीमिली बनाइन्छ । हाल पालामा दियोको स्थानमा मैनबत्ती बाल्ने प्रचलन पनि बढ्न थालेको छ । दीपावली गरिसकेपछि पूजा कोठामा दीयो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाइ विधिपूर्वक लक्ष्मीको पूजा गरिन्छ ।
लक्ष्मीपूजा पछि कन्या केटी र छोरी चेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणासमेत दिने प्रचलन छ । आज घरमा लक्ष्मीपूजा गरेपछि धनदौलत वा अन्य सामान घर बाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ ।
लक्ष्मीपूजा सन्ध्याकालमा गरी मध्यरातमा घरका नारीले नाङ्लो ठटाएर ‘अलक्ष्मी भागोस् लक्ष्मी र धनधान्यको आगमन होस्’ भनी कामना गर्ने शास्त्रीय विधि रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभयो ।
यसरी पार्नुहोस् लक्ष्मीलाई खुसी
लक्ष्मीमातालाई खुसी बनाउन लक्ष्मी पूजाको दिन यस्ता चीज चढाउनाले मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ ।
– लक्ष्मी पूजाको दिन बिहान चाडै उठ्नुहोस । उठिसकेपछि लक्ष्मी मन्दिर गएर राम्रो केहि वस्त्र र गुलाबको फुल चढाउनुहोस्।
(घरमा कुवेरको मुर्ति राख्दा लक्ष्मी खुसी हुने विश्वास गरिन्छ । खासमा कुवेर पनि धनका मालिक हुन् र उनले लक्ष्मीको रक्षा गर्छन् र कुवेरको मुर्ति राखिएको स्थान सफा हुनुपर्छ ।
– लक्ष्मी पूजाको दिन बिहान उखु ल्याउनुहोस् र साझ लक्ष्मीपुजा गर्ने क्रममा चढाउनुहोस्।
(लक्ष्मी पूजाको रात लक्ष्मी पुजा गर्दा नौ गोमती चक्र राखनुहोस। पूजा सकिएपछि चक्रलाई आफ्नो दराजमा राख्नुहोस्।
– पूजाको साँझमा गरिब व्यक्तिलाई आफ्नो घरमा भोजन र सकेको दान दिनुहोस्। विशेष पूजामा यो उपाय गर्नुहोस।
– यस रात पाँच साबुत सुपाडी ,कालो बेसार, पाँच पहेलो कौडी पनि राख्नुहोस्। पूजा पछि सबैलाई लगेर आफ्नो दराजमा राख्नुहोस्।
– यसो गर्दा लक्ष्मी प्रसन्न हुने सो घरमा सदा लक्ष्मीले बास गर्ने विश्वास गरिन्छ ।
– चाँदीले बनेका लक्ष्मी र गणेशको मुर्ति सँगै राख्दा निक्कै फलदायी मानिन्छ । तर यस्ता मुर्तिको पुजा भने दैनिक रुपमा गरिनुपर्छ ।
– लक्ष्मी समुन्द्रबाट उत्पत्ती भएको मानिन्छ । मुंगा पनि समुन्द्रकै उत्पादन भएका कारण मुंगा लक्ष्मीलाई चढाउँदा धन प्राप्ती हुने विश्वास गरिन्छ ।
भैलो खेलिने
आज साँझ युवतीहरु समूह बनाएर घरघरमा भैलो खेल्छन् । भगवान् विष्णुले यमपञ्चकको पाँच दिन स्वर्ग, मर्त्य र पाताल तीनै लोकको शासन गर्ने वरदान दिएका बलिराजाले भलो होस् भनी घर घरमा गाउन लगाएको सम्झनामा भैलो खेल्ने गरिएको जनविश्वास रहँदै आएको हो । ‘भलो होस्’ भन्ने शब्द समयक्रममा अपभ्रंश भई भैलो हुन आएको पनि अध्यक्ष गौतमले बताउनुभयो ।
भैलो युवतीहरुको लागि र देउसी युवाहरुको लागि भनिए पनि हिजोआज युवायुवतीले दुवै दिन भैलो(देउसी खेल्ने चलन बढ्दै गएको छ ।
आज भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी दिइन्छ । भैलो खेल्न आउनेलाई दिइने दान कात्तिकको दान भएकाले नदिएमा राम्रो नहुने र दिएमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।
लक्ष्मीपूजाका अवसरमा आज शहर बजारमा दीपावली गरी झिलीमिली बनाइन्छ । कूल परम्पराअनुसार कतै आजै बिहान गाईको पूजा गर्ने प्रचलनसमेत छ । शास्त्रीयरुपमा भने औँसीपछि कार्तिक शुक्ल प्रतिपदा लागेपछि मात्र गाई पूजा गर्नुपर्ने उल्लेख गरिएको धर्मशास्त्रविद् गौतमले जानकारी गराउनुभयो ।
FACEBOOK COMMENTS