काठमाडौं, फागुन २४ – आज १ सय ११ औं अन्तर्राष्ट्रिय नारी दिवस विश्वभर विविध कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । यो दिवसलाई श्रमिक महिला दिवस पनि भनिन्छ । सन् १९११ देखि मनाउन थालिएको यो दिवस आज १११ औँ वर्षमा पुगेको छ ।
यो वर्ष नेपालमा ‘महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार’ भन्ने मूल नाराका साथ यो दिवस मनाइँदै छ । दिवसका अवसरमा सरकारी र गैह्र सरकारी तवरबाट विभन्न कार्यक्रमको आयोजना गरिएको छ ।
नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्कीनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन छ । राजनीतिक तवरबाट शुरु भएको भए तापनि हाल महिला अधिकार, महिला सशक्तीकरण र समानतालगायतका सवालहरू अन्तर्राष्ट्रिय महिला दिवसका विषयहरू हुने गरेका छन् ।
१११औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुलीकुमारी महतो, दलका अन्य नेताहरू र महिला बालबालिकाको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाले शुभकामना सन्देश जारी गर्नुभएको छ ।
१९१० मा महिलाहरूलाई मत हाल्ने अधिकार सुनिश्चित गर्ने उद्देश्यका साथ यसलाई अन्तर्राष्ट्रिय मान्यता प्रदान गरिएको थियो । संयुक्त राज्य अमेरिकाको सोशलिस्ट पार्टीले २८ फेब्रुरी १९०९ मा सर्वप्रथम नारी दिवसको आयोजना गरेको थियो ।
सोशलिस्ट पार्टीले सन १९०८ को अन्तर्राष्ट्रिय महिला कपडा कामदारको आन्दोलनको स्मरणमा २८ फेब्रुअरी १९०९ का दिन महिला दिवस मनायो । यसपछि यो फेब्रुअरीको अन्तिम आइतबारको दिन मनाइन थालियो ।
१९१० मा सोशलिस्ट इन्टरनेशनलको कोपेनहेगनको सम्मेलनमा यसलाई अन्तर्राष्ट्रिय दिवसको मान्यता दियो । १९१७ मा रसियाका महिलाहरूले, महिला दिवसमा गाँस र कपासको लागि हडतालमा जाने निर्णय गरे ।
यो हडताल पनि ऐतिहासिक थियो । जारले सत्ता छोडे, अन्तरिम सरकारले महिलाहरूलाई भोट दिने अधिकार दियो । ८ मार्च महिलालाई दिवसको रूपमा मनाइन थालियो ।
FACEBOOK COMMENTS