काठमाडौं, चैत १४ – सरकारले घोषणा गरेको देश लकडाउनको चौथो दिन आज । कोरोना भाइरसको संक्रमण विश्वभरी फैलिएसँगै सरकारले चैत ११ देखि १८ गते सम्मका लागि देश लकडाउनको घोषणा गरेको छ ।
देश लकडाउन गरेसँगै हवाईदेखि सडक यातायातसम्म ठप्प रहेको छ । सधै भिडभाड र व्यस्त रहने काठमाडौं सडक र गल्लीहरु सुनसान छन् । सरकारले अत्यावश्यक सेवाका बाहेक सवारीसाधन सडकमा गुड्न दिएको छैन् । मानिसहरु सबै घरभित्र छन् भने सुरक्षा निकायका कर्मचारीहरु सडकमा बाक्लो रुपमा देख्न सकिन्छ ।
कोरोना भाइरसका कोभिड १९ का कारण देशका कलकारखाना तथा उद्योगहरु प्राय बन्द छन् । मानिसका दैनिक उपभोग्य बस्तुको उत्पादन गर्ने उद्योगबाहेक अरु सबै बन्द रहेको छ । यो महामारी कति समयसम्म चल्छ र कहिले रोकिन्छ भन्ने कसैले पनि आकंलन गर्न सक्ने अवस्था छैन् । कोभिड १९ संक्रमणको त्रासका कारण विश्वका धेरै देश लकडाउनको अवस्थामा छन् । विश्वका धनी राष्ट हुन वा गरीब यसको असरका कारण अर्थतन्त्रमा मन्दी छाएको छ । यसको मारमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा निजी क्षेत्रमा काम गर्ने श्रमिक तथा कर्मचारीहरु परेका छन् ।
देश संकटमा परेको समयमा मुलुककै जेठो निजी संस्था नेपाल उद्योग बाणिज्य महासंघले के गरिरहेको छ ? भनी कर्पोरेट खबरले महासंघकी अध्यक्ष भवानी राणालाई सोधेका थियौं ।
महासंघले हालको अवस्थामा आवश्यक बस्तुको आपूर्तिलाई नै मुख्य रुपमा ध्यान दिएको छ । देशभर आपूर्तिको अवस्था सहज र सरल बनाउन महासंघले सरकारका साथै स्थानिय प्रशासन तथा स्थानिय तहसँग समन्वय गरी काम गरिरहेको छ । हामीले आपूर्तिमा कुनै पनि बाधा नहोस् भनी कर्मचारीहरु ठाउँ ठाउँमा खटाइरहेका छौं । म आफै पनि घरमा बसेर काम गरिरहेकी छु । ढुवानीमा कुनै समस्या भएको खण्डमा सरकार तथा स्थानिय निकायसँग कुरा गरी सहज बनाउने काम गर्दै आएको छु । अहिलेको यो अवस्थामा हामीले कसरी सर्वसाधरण जनतालाई सरल र सुलभ मुल्यमा दैनिक उपभोग बस्तुहरु उपलब्ध गराउन सक्छौं भनी काम गरीरहेका छौं ।
साथै महासंघले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले स्थापना गरेको कोषमा केहि आर्थिक सहयोग गर्ने उद्देश्यले सम्पूर्ण सदस्यहरुसँग मिलेर रकम हस्तान्तरण गर्ने योजना बनाइरहेका छौं । त्यसका लागि महासंघले केन्द्र तथा जिल्लामा रहनु भएका सदस्यहरुसँग कुराकानी गरिरहेको छ । संभवत दुई चार दिनमै हामीले सरकारलाई सहयोग रकम उपलब्ध गराउँछौं । महासंघले कालोबजारी नहोस् र सुलभ मुल्यमा उपभोक्ताले सामाग्री खरिद गर्न सकुन भनेर जिल्ला जिल्लामा रहेका हाम्रा प्रतिनिधी मार्फत कालोबजारी निमूलनका लागि सक्रिय रुपमा लागेका छौं ।
महासंघले कोरोना संक्रमणबाट उत्पन्न हुन सक्ने जटिल परिस्थितिमा सर्वसाधारणको स्वास्थ्य सुरक्षा र उपचार कार्यमा सहयोग पुर्याउने उद्देश्यले दश हजार थान मास्क र २ सय पचास सेट व्यक्तिगत सुरक्षा उपकरण सरकारलाई हस्तान्तरण गरी सकेको छ । हाल महासंघले रोगको संक्रमणबाट जोगिनका लागि आवश्यक पर्ने व्यक्तिगत सुरक्षा पोसाक (पीपीई) लगायत स्वास्थ्य सामग्रीको आयातमा जोड दिएका छौं । हामीले ती सामाग्री विभिन्न जिल्लामा पठाउँने काम पनि अहिले गरिरहेका छौं ।
फरक प्रसंग उठाउँदै हामीले महासंघकी अध्यक्ष् राणालाई लकडाउनको यो समयमा के गरी आफुलाई व्यस्त राख्नु भएको छ भनी सोधेका थियौं ।
लकडाउनको यो समयमा म घरमै बसेर महासंघको काम पनि गरीरहेको छु भने परिवारसँग मिलेर रमाइलो पनि गर्छु । फुर्सदमा गाडेनिङ गर्नुका साथै परिवारसँग पुलमा पनि रमाइरहेकी हुन्छु । कहिले चलचित्र हेर्छु, पुस्तक पढ्छु यसरी नै समय बिताइरहेको छु । यो अवस्था एकदमै नाजुक अवस्था हो , हाम्रो सानो लापरवाहीले देशले ठूलो संकटको सामना गर्नुपर्ने हुन्छ । त्यसैले सबै जना संयमित भएर घरमै क्वारेनटाइनमा बसौं । यसले हामीलाई तथा देशलाई जोगाउँछ । सरकारको आदेशको पालना हामी सबैले संयमित र जिम्मेवार भएर गरौं ।
FACEBOOK COMMENTS