काठमाडौं, चैत ८ – सरकारको अनुमतिबिना विभिन्न देशबाट आएका ६२ जना नेपालीलाई खरिपाटी क्वारेन्टाइनमा लगिएको छ । विश्वभर कोरोना भाइरस महामारीको रुपमा फैलिएसँगै दुबई र कतारलगायतका देशबाट फर्किएका उनीहरुलाई क्वारेण्टाइनमा पठाइएको हो ।
विदेशी एयरलाइन्स कम्पनीले बेकेर ल्याएका ५ महिलासहित ६२नेपालीलाई खरिपाटी क्वारेन्टाइनमा राखिएको भक्तपुरका एसपी सविन प्रधानले जानकारी दिए।
थाई एयरवेजबाट आएका ४९ र एयर इण्डियामा आएका १३ जना नेपालीलाई क्वारेण्टाइनमा पठाइएको छ । क्वारेण्टाइनमा २ जना डाक्टरसहित नर्स र अरु स्वास्थ्यकर्मी गरी पाँच जना खटिएका र एउटा एम्बुलेन्स तथा त्यसका चालक तयारी अवस्थामा राखिएका छन् ।
आफूखुसी नेपाल आएका उनीहरुले १४ दिन क्वारेन्टाइनमा बस्ने आफैले नै खर्च व्यहोर्नुपर्ने छ । बुधबार सरकारले युरोपका सबै मुलुक, पश्चिम एसियालगायत खाडी मुलुक, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया, जापानका नागरिकलाई चैत ७ गतेदेखि वैशाख ३ गतेसम्मका लागि आगमनमा प्रतिबन्ध लगाएको थियो ।
FACEBOOK COMMENTS