काठमाडाैं, पुस १५ – गत निर्वाचनमा करीब २ तिहाइ मत ल्याएर सत्तासीन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को राजनीतिक विभाजनसँगै प्रधानमन्त्री केपी शर्मा ओली पक्ष र पुष्पकमल दाहाल ‘प्रचण्ड’-माधवकुमार नेपाल पक्षबीच जुहारी चलिरहेको छ ।
प्रचण्ड-नेपाल पक्षले ओलीलाई प्रतिगमनकारी करार गरिदिएको छ भने ओली पक्षले चुनावसँग डराएको आरोप लगाइरहेको छ । गत पुस ५ गते सरकारको सिफारिसमा प्रतिनिधिसभा भंग गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले आउँदो वैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन घोषणा गरेकी थिइन् ।
संसद भंग भएलगत्तै नेकपा दुईचिरा भएको छ । एउटा चिराको नेतृत्व प्रचण्ड र नेपालले गरेका छन् भने अर्को चिराको नेतृत्व ओलीले गरेका छन् । त्यसयता दुवै पक्षबीच आरोप प्रत्यारोप र पोल खोलाखोल चलिरहेको छ ।
बुधवार बबरमहलस्थित कार्की बैंकटबाट ओलीले प्रचण्ड-नेपाल पक्षसँग चुनावमा भिड्ने चेतावनी दिए । ओलीले बुधवार कार्की बैंकट रोज्नुको राजनीतिक अर्थ छ । संसद विघटनलगत्तै प्रचण्ड-नेपाल पक्षले सोही बैंकटमा केन्द्रीय कमिटी बैठक बोलाएर ओलीलाई अध्यक्षबाट कारवाही गरेको थियो ।
प्रचण्ड-नेपाल पक्षले ओलीलाई अनुशासनको कारवाही गर्दा जुन सोफामा प्रचण्ड बसेका थिए, बुधवारको कार्यक्रममा ओली त्यही सोफामा बसे । त्यहींबाट ओलीले संसद पुनर्स्थापनाको माग ‘तमासा’ मात्र रहेको घोषणा गरे ।
बुधवार कार्की बैंकटमा सुदूरपश्चिमका नेता तथा कार्यकर्ताहरूलाई ओलीले सम्बोधन गरेका थिए । भेलामा पूर्व माओवादीका तर्फबाट लेखराज भट्ट, सहदेव बोगटीलगायत नेताहरूले आफूले प्रचण्डको साथ किन छोड्नुपरेको भन्दै स्पष्टिकरण दिएका थिए । संघीय मन्त्री बनाइएका सुदूरपश्चिमका अन्य नेताहरूले पनि भेलामा प्रचण्ड-नेपाल समूहको चर्को आलोचना गरे ।
नेताहरूको भाषणका क्रममा भेलामा उपस्थित भएका नेता तथा कार्यकर्ताहरूले चर्को स्वरमा हुटिङ गरेका थिए ।
भेलामा मुख्य वक्ताका रूपमा ढिलो गरी उपस्थित भएका ओलीले माधव नेपाल ‘प्रचण्ड’को मामुली कार्यकर्ता बनेको भन्दै कटाक्ष गरे । उनले नेता नेपालको ‘क्यारिकेचर’समेत गर्ने प्रयास गरेका थिए ।
‘मलाई माऽऽऽऽन भएन । मलाई पदको लोभ छैन । मलाई उधारो हुँदैन,’ नेता नेपालको लबजमा पटक–पटक बोलेका ओलीले भने– ‘माधव नेपालको विषयमा त मैले कुनै टिप्पणी गर्नुपर्ने नै छैन, उहाँ प्रचण्डको एउटा मामुली कार्यकर्ता बन्न जानुभएको छ,’ ओलीले भने ।
उनले थपे – ‘विचरा न सभापति हुन पाउने ! सभापति प्रचण्डले चलाउने हो । छेउमा बस्न त पाउनु भएकै थियो ।’
ओलीले आफ्नो मृत्युको कामना गरिएको भन्दै आक्रोश समेत पोखे ।
वैशाखबाट ओली पत्तासाफ हुन्छन् भन्ने प्रचण्डले मंगलवार गरेको टिप्पणीको जवाफ दिँदै ओलीले भने, ‘उहाँहरू भविष्यवाणी पनि कस्तो नमिल्ने गर्नुहुन्छ – म उपचारका लागि बैंकक गएँ, काठको बाकसमा फर्किन्छ भने, तर म त प्रधानमन्त्रीको कुर्चीमा छु । म पनि एक दिन मर्छु । मान्छे मरोस् भन्ने कल्पना गर्नु विरोधीलाई पनि हुँदैन ।’ ओलीले चुनावको तयारीमा लाग्न प्रचण्ड-नेपाल समूहलाई सुझाव समेत दिए ।
‘तपाईंहरूले पनि केही सिट ल्याउनुस् भन्ने मेरो शुभकामना छ । त्यसका लागि अहिलेदेखि नै तयारी गर्नुस् । सडकमा गएर कपडा बिगारेर के हुन्छ ?’
ओलीले प्रचण्डलाई सफा गर्न आफ्नो साबुन र स्याम्पु धेरै खर्च भएको भन्दै प्रचण्डप्रति तिखो कटाक्ष गरेका थिए । ‘प्रचण्डलाई सफा गर्न मेरो धेरै साबुन र स्याम्पु खर्च भयो,’ ओलीले भने, ‘तर प्रचण्ड सफा भएनन् । अहिलेसम्म जस्ताको त्यस्तै छन् ।’
ओलीले पार्टीको बहुमत केन्द्रीय सदस्य प्रचण्ड-नेपाल पक्षसँगै रहेको स्वीकारे । ‘पार्टी एकता गर्दा एमालेमा माधव नेपालको पनि गुट थियो । त्यसपछि प्रचण्डको गुट थपियो । दुई गुट मिले भने म अल्पमतमा पर्छु भन्ने मलाई थाहा थियो । तर उक्त बहुमत पार्टी विभाजनका लागि प्रयोग गरियो । मैले एकताका लागि प्रयोग गर्न खोजेको थिएँ,’ ओलीले भने ।
ओलीले सम्बोधन गर्नुपूर्व उद्योगमन्त्रीसमेत रहेका लेखराज भट्टले सम्बोधन गरेका थिए । उनले प्रचण्ड पूर्वमाओवादी र पूर्व एमाले छुट्याउन हिंडेको आरोप लगाउँदै प्रश्न गरे – ‘पूर्वमाओवादी एक हुनुपर्ने हो भने माधव कमरेडलाई यता पठाइदिनुस् न त !’
ओली पक्षमा लागेका पूर्व माओवादी खेमाका नेता भट्टले अध्यक्ष ‘प्रचण्ड’ दृष्टिविहीन र चिन्तनविहीन बनेको आरोपसमेत लगाए । उनले प्रचण्डले राति सुत्दा पनि प्रधानमन्त्री पद देख्ने गरेको आरोप लगाए ।
‘राति सुत्दा पनि प्रधानमन्त्री देख्नुहुन्छ प्रचण्डले,’ भट्टले भने, ‘प्रधानमन्त्री अहिल्यै चाहियो भन्ने छ ।’
भट्टले थपे – ‘प्रचण्डले घाइतेहरूलाई सम्झेनन्, शहीदलाई सम्झेनन्, बेपत्तालाई सम्झेनन्, अहिले पूर्व माओवादी एक हुनुपर्छ भनिरहेका छन् । केका निम्ति पार्टी फुट्यो ? उहाँहरूलाई हामी यहाँ छौं भन्नुपर्ने दिन किन आयो ? अब हामीले उहाँहरूलाई खोज्न जानुपर्ने भयो । कहाँ–कहाँ हुनुहुन्छ, खोजेर यही पार्टीमा ल्याउनुपर्ने छ ।’
भेलामा बोल्ने अन्य नेताहरूले पनि पार्टीको मूल र संस्थापन पक्ष आफैं रहेको दाबी गरेका थिए । कर्ण थापा, निरुदेवी पाल, सहदेव बोगटी लगायतका नेताहरूले प्रचण्ड-नेपाल पक्षको चर्को आलोचना गरे ।
यता पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा प्रचण्ड-नेपाल पक्षले स्थायी कमिटी बैठकको आयोजना गरेको थियो । बैठकमा आन्दोलनका आगामी कार्यक्रमका बारेमा छलफल भएको थियो ।
आजै पेरिसडाँडामा बसेको वागमती प्रदेश सभाको नेकपा संसदीय दलको नेता परिवर्तन गरिएको थियो । मुख्यमन्त्री डोरमणि पौडेललाई हटाएर अष्टलक्ष्मी शाक्यलाई संसदीय दलको नेता बनाइएको थियो ।
FACEBOOK COMMENTS