काठमाडौं– राजस्व अनुसन्धान विभागले आयकर छलीको अहिलेसम्मकै ठूलो मुद्दा काठमाडौं जिल्ला अदालतमा दायर गरेको छ।
हिमालयन कार्गोका संचालक विनोदकुमार गुप्ताले कम्पनी चलाएर १० वर्षदेखि कुनै कर नबुझार्इ ५४ करोड ४२ लाख रुपैयाँ छली गरेको अनुसन्धानबाट देखिएको विभागले जनाएको छ।
विभागले गुप्ता र उनकी श्रीमती मधुकुमारी गुप्तालार्इ मूख्य अभियुक्त बनाएर विगो र जरिवाना समेत २ अर्ब ७२ करोड १२ लाख ३८ हजार ७ सय ६० रुपैयाँ र तीन वर्षसम्म कैद गर्न माग दाबी गर्दै अदालतमा मुद्दा दायर गरेको हो।
विभागका अनुसार आर्थिक वर्ष २०६५÷०६६ देखि २०७१÷०७२सम्म साना करदाताको रुपमा वार्षिक पाँच हजार रुपैयाँ मात्रै गुप्ताले कर बुझाएको देखिएको छ। विभागले आर्थिक वर्ष २०७२÷०७३देखि ०७४÷०७५सम्म कुनै कर नबुझाएको जनाएको छ।
विभागका महानिर्देशक दीर्घराज मैनालीले शुक्रबार पत्रकार सम्मेलन गरेर यो जानकारी दिएका हुन्। उनले गुप्ताको नाममा रहेको १५ करोड रुपैयाँ रोक्का गरेको जानकारी दिँदै एक अर्ब रुपैयाँ बराबरको स्थीर सम्पत्ति रोक्का गरेको बताए।
नेपालगंज भन्सार कार्यालयबाट विना जाँचपास भारतबाट धुलो दूध र वनस्पति घिउ बोकेको ट्रक नागढुंगाबाट पक्राउ परेको थियो। यो गाडी पक्राउ परेपछि हिमालयन कार्गो संचालक गुप्ताको विभागले अनुसन्धान थालेको थियो।
FACEBOOK COMMENTS