काठमाडौं,चैत ३० – कोभिड–१९ का कारण नेपालको आर्थिक बृद्धिदर यो वर्ष २ दशमलव ८ प्रतिशतमा संकुचन हुने प्रक्षेपण विश्व बैंकले गरेको छ ।
आइतबार दक्षिण एसियाली क्षेत्रको आर्थिक अवस्थाबारे एक रिर्पोट सार्वजनिक गर्दै विश्वबैंकले आर्थिक वृद्धिदरमा उच्च गिरावट आउने प्रक्षेपण गरेको हो । बैंकले विप्रेषण आप्रवाहमा आउने कमी, पर्यटन तथा व्यापार क्षेत्रमा गिरावट, महामारीका कारण सीमा क्षेत्रमा पुगेको अवरोधका कारण नेपालको आर्थिक बृद्धिदर घट्ने बताएको हो ।
सरकारले चालू आर्थिक वर्षमा साढे ८ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य लिएको थियो । यसअघि एसियाली विकास बैंकले नेपालको आर्थिक वृद्धिदर ४.३ देखि ५.३ प्रतिशतको बीचमा रहने प्रक्षेपण गरेको थियो । यसअघि सामान्य अवस्थामा साढे ६ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुने अनुमान विश्व बैंकको थियो।
बैंकले कोरोना महामारीको प्रभावले हस्पीटालिटी, खुद्राव्यापार तथा यातायात क्षेत्रमा काम गर्ने न्युन आय भएका अनौपचारीक कामदारलाई बढी प्रभावित पार्ने बताएको छ । साथै यसले नेपाललगायत दक्षिण एशियाली मुलुकमा असमानता तथा गरीबी बढाउनेसमेत बैंकले बताएको छ ।
FACEBOOK COMMENTS