काठमाडौं, वैशाख ३० – प्रधानमन्त्री केपी शर्मा ओली आफैले मार्ग प्रशस्त गरिदिँदा पनि कांग्रेस र माओवादी केन्द्रले नयाँ सरकार गठन गर्न नसक्ने अवस्थामा पुगेको छ । बहुमतीय सरकारका लागि आवश्यक संख्या पुर्याउन नसकेपछि नयाँ सरकार गठनबाट कांग्रेस–माओवादी अन्ततः पछि हटेका छन् ।
नेकपा एमालेको माधवकुमार नेपाल पक्षका सांसदले राजीनामा नदिनाका साथै जनता समाजवादी पार्टी (जसपा)को समेत समर्थन प्राप्त गर्न नसक्दा कांग्रेस–माओवादी नयाँ सरकार गठनबाट पछि हटेका हुन् ।
बहुमतको सरकार गठनका लागि प्रतिनिधिसभाका १३६ सांसदको समर्थन आवश्यक पर्छ । तर, नेपाली कांग्रेससँग ६१ (दुई निलम्बित) र नेकपा माओवादी केन्द्रसँग ४९ सांसद मात्र छन् ।
३२ (दुई निलम्बित) जना सांसद रहेका जनता समाजवादी पार्टीभित्र सरकार गठनका विषयमा विवाद रहेकाले कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बहुमतको सरकार गठन गर्नबाट पछि हटेका हुन् ।
बिहीबार जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले देउवालाई भेटी सरकार गठनमा साथ दिन नसक्ने बताएका थिए ।
सरकार गठनमा बहुमत पुर्याउन कांग्रेस र माओवादी केन्द्रले माधवकुमार नेपाल पक्षका सांसदको राजीनामा आश गरेको भए पनि ओलीले राजीनामाबाट रोक्दै पार्टीमा सहमति जुटाउने कसरत गरेपछि विपक्षी दलहरु सरकार गठन नहुँदै अल्पमतमा परेका हुन् ।
घटनाक्रमले आज राति ९ बजेपछि पुनः प्रधानमन्त्री ओलीले नै प्रधानमन्त्रीको रुपमा सपथ ग्रहण गर्ने स्थिति निर्माण गरेको छ । तर, ओली जसपालाई लिएर बहुमतको सरकार गठन गर्छन् वा ठूलो दलको हैसियतमा अल्पमतको सरकार गठन गर्छन भन्ने मात्रै टुंगो लागेको छैन ।
यो पनि पढ्नुहोस्–
FACEBOOK COMMENTS