काठमाडौं, जेठ १६ – जनता समाजवादी पार्टी नेपाल (जसपा) मा दुबै समूहबाट फुटको अन्तिम अस्त्र प्रयोग भएको छ । पार्टीका अध्यक्षद्वयले एक–अर्कालाई २४ घण्टे स्पष्टीकरण सोधेका छन् । स्पष्टीकरणको म्याद आजै सकिँदैछ ।
यसअघि दुबै अध्यक्षले तीन दिनभित्र स्पष्टीकरण पेस गर्न जेठ ११ गते एक–अर्कालाई पत्र पठाएका थिए । दुबै पक्षले कसैलाई जवाफ नदिएपछि शनिबार फेरि एक–अर्कालाई २४ घण्टे स्पष्टीकरण सोधिएका हुन् ।
जसपा अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्थ ठाकुरलाई स्पष्टीकरण सोधेको पौने २ घण्टापछि अध्यक्ष ठाकुरले पनि शनिबारै २४ घण्टे स्पष्टीकरण सोधेका छन् ।
ठाकुरले पठाएको पत्रमा भनिएको छ, तपाईलाई सफाइको मौका दिन तपाईलाई कारवाही किन नगर्ने भनी स्पष्टीकरण सोधिएकामा आजको मितिसम्म जवाफ प्राप्त हुन नआएकाले दोस्रो पटक पुनः यो पत्र जुनसुकै माध्यमले प्राप्त भएको मितिले २४ घण्टाभित्र चित्तबुझ्दो स्पष्टीकरण लिई आउन हुन अनुरोध छ ।’
यो पत्र प्राप्त गरेको म्यादभित्र चित्त बुझ्दो र सन्तोषजनक प्राप्त नभएमा राजनीतिक दल सम्बन्धी ऐन २०७३ र जसपा नेपालको अन्तरिम विधान २०७७ बमोजिम निष्काशन समेतको कारवाही हुने चेतावनी अध्यक्ष ठाकुरले यादवलाई दिएका छन् ।
FACEBOOK COMMENTS