काठमाडौं, कार्तिक १४ – आम उपभोक्ताको ध्यान चाडबाडतिर भइरहेका बेला पूर्वका उद्योगीले अप्रत्याशित रूपमा इँटाको मूल्य बढाएका छन्। मोरङ र सुनसरीका उद्योगीले दशैंको मुखमा इँटाको मूल्य प्रति गोटा २ रुपैयाँले बढाएका हुन्।
मोरङको सबैभन्दा ठूलो आनन्द इँटा भट्टा उद्योगले १ नम्बर इटाको मूल्य १८ बाट २० रुपैयाँ बनाएको छ। यस इँटाभट्टाका ८ वटा चिम्नी संचालनमा छ। आनन्द इँटाका संचालक मोरङको रङ्गेली नगरपालिकाका प्रमुख एवं नेकपाका नेता दिलीप अग्रवाल बगडिया हुन्। त्यस्तै सुनसरीको पवित्रा इँटाले प्रति गोटा २२ रुपैयाँ कायम गरेको छ।
कोशी इँटा व्यवसायी संघका अध्यक्ष महेन्द्र शाहको सञ्चालनमा रहेको जय नेपाल इँटा उद्योगले १७ बाट १९ रुपैयाँ निर्धारण गरेको छ। दुबै जिल्लाका अन्य सबै उद्योगले प्रति गोटा १ रुपैयाँ ५० पैसादेखि २ रुपैयाँसम्मले मूल्यवृद्धि गरेका छन्। मोरङ सुनसरीमा १ नम्बर इँटा प्रति गोटा १६ देखि १८ रुपैयाँमा विक्री भइरहेकोमा दसैं अगाडिदेखि प्रति गोटा १८ देखि २२ रुपैयाँ बनाइएको छ।
दुबै जिल्ला केही इँटा उद्योगी आफ्नो सरकारी पहुँच र शक्तिको धाक देखाउँदै इँटाको मूल्य वृद्धि गर्न विगत २ वर्षदेखि अन्य उद्योगीलाई दबाब दिँदै आएका थिए। तर स्थानीय प्रशासन र उपभोक्तावादी सङ्गठनका डरले अन्य इँटा उद्योगी मूल्य बढाउन मानिरहेका थिएनन्। तर यस वर्ष उनै उद्योगीका दबाबमा कोशी इँटा व्यवसायी संघको बैठकनै बसेर इँटाको मूल्य वृद्धि गरिएको हो।
FACEBOOK COMMENTS