काठमाडौं – नेपाल शैक्षिक परामर्श संघ ९इक्यान०ले आगामी मौद्रिक नीतिमा शैक्षिक परामर्श क्षेत्रलाई सम्बोधन गर्न माग गरेको छ । मंगलबार इक्यानका अध्यक्ष प्रकाश पाण्डेले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेट गरी विभिन्न ७ बुँदे सुझाव दिएका हुन् । कोरोना भाइरसको महामारीका कारण शैक्षिक परामर्श क्षेत्र अति प्रभावित भएको भन्दै व्यवसाय बचाई राख्नका निम्ति मौद्रिक नीतिमा समेट्नुपर्ने सुझाव बुझाएको हो ।
गत फागुन महिनादेखि नेपाल सरकार शिक्षा मन्त्रालयबाट ‘नो अब्जेक्सन सर्टिफिकेट’ ९एनओसी० जारी हुन बन्द भइसकेको अवस्थामा कुनै पनि कन्सलटेन्सी सञ्चालन हुन नसकेको उल्लेख गर्दै इक्यानले कोभिड–१९ का कारण सबैभन्दा बढी प्रभावित क्षेत्रमा शैक्षिक परामर्श, पर्यटन र वैदेशिक रोजगार रहेको उल्लेख गरेको छ । लकडाउन पूर्णरुपमा खुलिसकेको अवस्थामा पनि व्यवसाय सामान्य हुनका लागि लामो समय लाग्ने भएकाले मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने इक्यानको भनाइ छ ।
शैक्षिक परामर्श क्षेत्र विशेष गरी अन्तर्राष्ट्रिय सीमा खुल्ने विषयसँग सम्बन्धित भएकाले अन्य पेशाको तुलनामा सामान्य हुन अन्तर्राष्ट्रिय यातायात सहजरुपमा सूचारु हुनुपर्ने भएकाले लामो समय लाग्ने सुझावमा भनिएको छ।
‘हाम्रो अर्थतन्त्र रेमिट्यान्स आधारित छ । रेमिट्यान्समा वैदेशिक रोजगारपछि शैक्षिक परामर्श सेवामार्फत अध्ययनका लागि गएका विद्यार्थीमार्फत् हुने आम्दानी नै धेरै छ । विद्यार्थीहरुले अध्ययन सकेपछि दक्ष जनशक्ति बनेर काम गरी कमाएर पठाएको रकमको योगदान पनि हाम्रो रेमिट्यान्समा ठूलो छ र यो विदेशी मुद्रा आम्दानीको पनि ठूलो स्रोत हो । भोलिका दिनमा विदेशमा काम गर्न जानेको संख्यामा कमी आउने, उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीको संख्यामा कमी आउने हुँदा विदेशी मुद्रा ९रेमिट्यान्स० को आयमा प्रत्यक्ष असर पर्ने निश्चित प्रायः देखिन्छ,’ सुझावमा उल्लेख छ ।
‘पढ्न जानेहरुको हकमा त्यसको असर २र३ वर्षपछि देखिन थाल्छ भने श्रमका लागि जानेहरुको हकमा आगामी आवदेखि नै देखिन शुरु गर्छ । तसर्थ यस्ता क्षेत्रहरुलाई आवश्यकता अनुसार बलियो बनाउन प्रयास गरिएन भने रेमिट्यान्सको पाटोलाई जोगाउन नसक्ने निश्चित हुन्छ जसको असर स्वदेशी अर्थतन्त्रमा गम्भिर रुपमा पर्दछ र हामी देशभित्र पनि कमजोर हुन्छौं,’ इक्यान अध्यक्ष पाण्डेले भने ।
त्यसैले मौद्रिक नीतिमा यस क्षेत्रका लागि कम्तीमा एक वर्षको भाडा र कर्मचारीको तलब बराबरको रकम सहुलितय ब्याजदरमा कर्जा उपलब्ध गराउन सकियो भने मात्र पनि यस क्षेत्रलाई बचाउन सहज हुने इक्यानको भनाइ छ ।
मौद्रिक नीतिका लागि यस्ता छन् इक्यानका सुझाव
१. उद्योगी व्यवसायीले तिर्नुपर्ने २०७६ चैत महिनादेखि २०७७ असार महिनासम्मको बैंकको किस्ता र ब्याजलाई आवश्यकता अनुसार पुँजीकरण गर्ने व्यवस्था होस् ।
२. साना तथा मझौला उद्योग व्यवसायलाई झन्झटरहित ढंगले नयाँ सहुलियत कर्जा वा पुनरकर्जा सुविधा उपलब्ध हुने व्यवस्था होस् ।
३. कोरोना अवधिको पारिश्रमिक र घरभाडा भुक्तानीका लागि बेग्लै कोष स्थापना गर्ने र ५ प्रतिशत ब्याजमा कर्जा उपलब्ध गराउने, सो कोष स्थापना भएर कार्यान्वयन नहुञ्जेल बैंक तथा वित्तीय संस्थाबाटै पछि कोषको रकमबाट मिलान हुने गरी अल्पकालीन व्यवस्थापन हुने व्यवस्था होस् ।
४. शैक्षिक परामर्श क्षेत्रलाई सम्बोधन गर्दा दिइने नयाँ सहुलियत कर्जा अन्तर्राष्ट्रिय सीमारयातायात खुलेको वा सहज भएको अवस्थालाई ध्यानमा राखेर, सोको ६ महिनापछि बाट ब्याज बुझाउने, त्यसबेलासम्म ब्याज र साँवा नबुझाए पनि हुने, त्यसपछिको ६ महिना ब्याजमात्र बुझाउने र त्यसपछि ३ बर्षमा ब्याज र साँवा बुझाउन पाउने गरिको व्यवस्था गरियोस् ।
५. विगतमा नाफामा भएका उद्योग व्यवसायहरु समेत हाल धराशायी हुने भएकाले त्यस्ता उद्योग व्यवसायहरुलाई कोभिड–१९ प्रभावित नयाँ सहुलियत कर्जा वा पुनर्कर्जाका लागि योग्य मानियोस् ।
६. पुनर्कर्जाको वितरण कार्यविधि सरल र सहज हुनुपर्छ । हाल स्वीकृत ऋणको २५ प्रतिशत थप ऋणसम्म बिनाधितो कर्जा उपलब्ध गराउने व्यवस्था होस् ।
७. आफ्नो सम्पत्ति धितो राखेर लगानीका लागि लिने व्यक्तिगत कर्जाको सीमा १ करोड रुपैयाँ पुर्याइयोस् ।
FACEBOOK COMMENTS