काठमाडौं, माघ २७ – इङ्ल्यान्डविरुद्धको चार टेस्ट क्रिकेटको शृंखलाअन्तर्गत पहिलो खेलमा घरेलु टोली भारत २ सय २७ रनले पराजित भएको छ। चार सय २० रनको लक्ष्य पछ्याएको भारत पाचौँ तथा अन्तिम दिन मंगलबार एक सय ९२ रनमा समेटियो।
भारतलाई सस्तोमा समेट्न इङ्ल्यान्डका ज्याक लिचले ४ र जेम्स एन्डर्सनले ३ विकेट लिए। जोफ्रा आर्चर, डम बेस र बेन स्टोक्सले एक/एक विकेट हात पारे।
भारतका लागि विराट कोहलीले सर्वाधिक ७२ रन बनाए। प्रारम्भिक ब्याट्सम्यान सुभमन जिलले ५० रन जोडे। अन्य कुनै पनि ब्याट्सम्यानले अर्धशतकीय पाली खेल्न सकेनन्। रोहित शर्मा १२, चेतेश्वर पुजाराले १५ र विकेटकिपर रिशभ पन्तले ११ रन जोडे। अजिन्क्या रहाने र वासिङ्टन सुन्दरले खाता खोल्न सकेनन्। सहबाज नदिम पनि शून्यमा आउट भए।
भारतले ३९-१ को स्थितिबाट अन्तिम दिनको खेल अगाडि बढाएको थियो। ११७ रन जोड्दा ६ विकेट गुमाएको भारतले सातौँ विकेटका लागि ५४ रनको साझेदारी गरेको थियो।
यसअघि पहिलो पालीमा २ सय ४१ रनले अगाडि रहेको इङ्ल्यान्डले दोस्रो पालीमा सबै विकेट गुमाएर एक सय ७८ रन जोड्यो।
इङ्ल्यान्डका कप्तान जोए रुटले सर्वाधिक ४० रन बनाए। भारतका रविचन्द्रन आश्विन एक्लैले ६ विकेट हात पारे। भर्खरै मात्र भारतले अस्ट्रेलियामा घरेलु टोलीविरुद्धको चार खेलको टेस्ट शृंखला २-१ ले जितेको थियो।
FACEBOOK COMMENTS