काठमाडौं,चैत ३- कोरोनाभाइरसको सङ्क्रमण विश्वभरि फैलिरहेको छ। विश्व स्वास्थ्य सङ्गठनले यसलाई विश्वव्यापी महामारीको सङ्ज्ञा दिइसकेको छ।
चीनबाट सुरु भएको कोभिड-१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्।
तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको छ।
कोरोना भाइरसले इटालीमा पछिल्लो २४ घण्टामा ३ सय ६८ जनाको मृत्यु भएको छ। उच्च सतर्कताकै बीच इटली एकैदिनमा भएको यो अहिलेसम्मकै उच्च मृत्यु हो ।
यससँगै इटालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ८ सय ९ पुगेको त्यहाँको नागरिक संरक्षण प्राधिकरणले जनाएको छ। कोरोना संक्रमित संख्या २४ हजार ७ सय ४७ पुगेको अल जजिराले जनाएको छ।
त्यसैगरी इरानमा कोरोनाबाट पछिल्लो २४ घण्टामा सय भन्दा बढीको मृत्यु भएको छ भने मर्नेको संख्या ७ सय २४ जना पुगेको छ।
१४ हजार संक्रमित छन्। अर्को मुलुक स्पेनमा पनि एकैदिन ९७ मानिसको मृत्यु भएको छ । हालसम्म १ हजार ४ सय ५४ को ज्यान गइसकेको स्पेनमा कुल संक्रमित संख्या ७ हजार ८ सय ४५ छ ।
फ्रान्समा आइतबार ३६ जनाको ज्यान गएको छ । योसँगै फ्रान्समा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ सय २७ पुगेको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाबाट मर्नेको संख्या ६ हजार नाघेको छ भने १ लाख ५३ हजार भन्दा बढी संक्रमित छन्। १ सय ४१ देशमा कोरोना भाइरसको संक्रमण देखिएको छ।
FACEBOOK COMMENTS