काठमाडाैं, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) ले सिन्धुपाल्चोकको मेलम्चीका बाढी पीडितलाई १० लाख रुपैयाँ बराबरको राहात सामग्री वितरण गरेको छ ।
शनिबार सदरमुकाम चौतारा पुगेर जिल्ला प्रशासन कार्यालयमार्फत राहात सामग्री वितरण गरिएको हो । राहात वितरणका लागि इपानका महासचिव गोरे शेर्पा, सचिव द्वय बलराम खतिवडा र भरतबहादुर खत्री, कार्यसमिति सदस्य द्वय उत्तम भ्लोन लामा र विक्रम विष्ट चौतारा पुग्नु भएकाे थियाे ।
राहत सामानहरू वास्तविक पीडितसमक्ष पुर्याइदिन इपान सचिव खतिवडा र खत्रीले अनुरोध गर्नु भएकाे थियाे । प्रभावित क्षेत्रमा सोझै गएर वितरण गर्दा विवाद हुने सम्भावना रहेको हुँदा जिल्ला प्रशासनमार्फत राहात पुर्याइएको खत्रीले बताए । प्रभावित क्षेत्रमा आवश्यक सामान पहिचान भएको खण्डमा सक्दो सहयोग गर्ने इपानले प्रतिबद्धता जनाएको छ ।
इपानसँगै नेपाल मेडिकल काउन्सिलले पनि बाढी पीडितका लागि लगेको राहात सामग्री जिल्ला प्रशासन कार्यालयलाई बुझाएको थियो । काउन्सिलले आवश्यकता अनुसार अक्सिजन, भेन्टिलेटर लगायत स्वास्थ्य सामग्री सहयोग गर्न सकिने काउन्सिलका अध्यक्ष लोचन कार्कीले बताउनु भएकाे थियाे ।
FACEBOOK COMMENTS