काठमाडौं, भदौ १० – उच्च अदालत विराटनगरका एक जना न्यायाधीशसहित दुईजनामा कोरोना संक्रमण देखिएको छ । कोशी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणको रिपोर्ट मंगलबार साँझ पोजिटिभ आएको हो ।
संक्रमित हुनेमा ४८ वर्षीय न्यायाधीश र उनका सवारी चालक रहेको अदालतका सूचना अधिकारी ओम सुवेदीले जानकारी दिए । सुवेदीका अनुसार सवारी चालकमा केही दिनदेखि ज्वरो र रुघाखोकीको समस्या देखिएपछि न्यायाधीश उनका अंगरक्षक र सवारी चालक तीनै जनाले भदौ ७ गते आइतबार स्वाब परीक्षणका लागि दिएका थिए ।
स्वाब परीक्षण गराएकामध्ये मंगलबार साँझ दुईजनाको पोजिटिभ र अंगरक्षकको रिपोर्ट भने नेगेटिभ आएको उनको भनाइ छ । कुनै लक्षण नदेखिएको तथा केही पनि समस्या नरहेका कारण संक्रमण पुष्टि भएका न्यायाधीश अहिले ‘होम आइसोलेसन’मै रहेको जानकारी सुवेदीले दिए । सवारी चालकलाई भने उपचारका लागि कोभिड अस्पताल भर्ना गरिएको छ ।
यसअघि जिल्ला अदालत मोरङका न्यायाधीशमा पनि कोरोना देखिएको थियो । उच्चका सूचना अधिकारी सुवेदीले न्यायाधीशमा कोरोना पुष्टि भए पनि अदालतको काम कारबाही भने नियमितनै चल्ने जानकारी दिए ।
FACEBOOK COMMENTS