काठमाडौं, जेठ ८ – उदयपुर सिमेन्ट उद्योग लिमिटेडले एकैपटक १४ वटा वार्षिक साधारणसभा आह्वान गरेको छ । उद्योगले २०औंदेखि ३३औं वार्षिक साधारणसभा आह्वानबारे आज शनिबार सूचना प्रकाशित गरेको छ ।
उद्योग सञ्चालक समितिको गत चैत २७ गते बसेको १०१२औं बैठकले आर्थिक वर्ष २०६३/०६४ देखि २०७६/०७७ सम्मको १४ वटा वार्षिक साधारणसभा एकैपटक गर्ने निर्णय गरेको हो । निर्णय अनुसार यही जेठ ३० गते आइतबार उदयपुरको जलजलेस्थित उद्योगको समीक्षालय हलमा बिहान ११ बजेदेखि साधारणसभा शुरू हुने छ ।
विद्यमान परिस्थितिलाई दृष्टिगत गर्दै सभामा भिडियो कन्फ्रेन्समार्फत सहभागिता जनाउन सकिने बताइएको छ । भिडियो कन्फ्रेन्सका लागि शेयरधनी संस्थाका प्रतिनिधिहरूको ई–मेल ठेगानामा लिंक उपलब्ध गराइने सूचनामा उल्लेख छ ।
यस्ता छन् प्रस्तावहरू–
१. आर्थिक वर्ष २०६३/६४ देखि आर्थिक वर्ष २०७६/७७ (२०औंदेखि ३३औँ) सम्मको सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।
२. लेखापरीक्षकको प्रतिवेदनसहित २०६४ देखि २०७७ सम्म तत् आर्थिक वर्षको आअसार मसान्तको वासलात तथा सोही मितिमा समाप्त भएको सन्दर्भ आर्थिक वर्षको नाफा नोक्सान हिसाब, नाफा नोक्सान बाँडफाँड तथा नगद प्रवाह विवरण लगायत सम्पूर्ण वित्तीय विवरणहरू पारित गर्ने ।
३. आर्थिक वर्ष २०६३/६४ देखि २०७६.०७७ सम्मको महालेखा परीक्षकको कार्यालयबाट नियुक्त लेखापरीक्षक र निजले पाउने पारिश्रमिक अनुमोदन गर्ने तथा आर्थिक वर्ष २०७७/७८ का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक तोक्ने ।
विशेष प्रस्तावहरु
१. अधिकृत पुँजी रु. ४ अर्ब रुपैयाँबाट वृद्धि गरी रु. १० अर्ब रुपैयाँ कायम गर्ने ।
२. सम्बन्धित निकायको स्वीकृति लिई उद्योगको नाममा रहेको ऋणको साँवा रकम १ अर्ब ७२ करोड ५० लाख रुपैयाँ र व्याज रकम ६६ करोड ९ लाख २० हजार २०० रुपैयाँ गरी कुल रकम ३ अर्ब ३८ करोड ५९ लाख २० हजार २०० रुपैयाँलाई साधारण सेयर कायम गरी नेपाल सरकारको साँवा तथा व्याज रकम राफसाफ गर्ने ।
३. विशेष प्रस्ताव नं. २ बमोजिम रु. ३ अर्ब ३८ करोड ५९ लाख २० हजार २०० बराबरको साधारण सेयर जारी गरेपछि सो हदसम्म उद्योगको जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने ।
४. परिवर्तित सन्दर्भमा प्रचलित कानून बमोजिम उद्योगको प्रबन्धपत्र नियमावलीमा समय सान्दर्भिक संशोधन गर्ने ।
५. विशेष प्रस्तावको १, २, ३ र ४ मा उद्योगको प्रबन्धपत्र तथा नियमावली संशोधन प्रस्तावमा नियमनकारी निकाय जस्तै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्य कम्पनी रजिस्ट्रारको कार्यालय लगायतका निकायहरूले संशोधन, परिवर्तन वा अपघट गर्न निर्देशन दिएमा सो अनुसार आवश्यक संशोधन, परिवर्तन वा थपघट गर्न प्रक्रियागत कार्यका लागि महाप्रबन्धकलाई अख्तियारी प्रदान गर्ने ।
FACEBOOK COMMENTS