काठमाडौं, चैत ९ – नेपाल उद्योग वाणिज्य महासंघको स्टार्टअप एण्ड इनोभेशन समितिले आज पत्रकार सम्मेलन आयोजना गरी उक्त कार्यको शुभारम्भ गरेको हो । कार्यक्रम शुभारम्भ गर्दै महासंघका अध्यक्ष शेखर गोल्छाले नवीन सोचमा आधारित रहेर उद्यम गरिरहेका उद्योग व्यवसायहरुको व्यवसायिक सफलताका लागि समिति अन्तरगत रहेको इन्भेष्टर फोरम मार्फत व्यवसायिक साझेदारीका लागि कार्यक्रम तर्जुमा गरिएको बताए ।
यसका लागि चैत महिनाको तेस्रो साताबाट आवेदन खुला गरिने र त्यसका लागि स्टार्टअप/उद्योग व्यवसाहरु कम्तीमा १ वर्ष वा सो भन्दा बढी सञ्चालन भएको हुनु पर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो । उद्यम गर्न चाहने ५० वटा स्टार्टअपहरुलाई शुरुवाती पूँजी जुटाउने कार्यको शुभारम्भ गरिएको छ ।
उक्त कार्यक्रममा स्टार्टअप एण्ड इनोभेशन समितिका सभापति रञ्जितराज आचार्यले नव उद्यमीहरुलाई अर्थतन्त्रको मूल प्रवाहमा जोड्ने र महासंघले आर्थिक रुपान्तरण मार्गचित्र मार्फत अगाडि सारेको प्रतिवर्ष ४ लाखलाई रोजजारी सिर्जना गर्ने कार्यमा सहयोग पुर्याउने बताए ।
उद्योग मन्त्रालय अन्तरगतको लगानी प्रबद्र्धन महाशाखासँगको सहकार्यमा स्टार्टअप नीति निर्माणमा लागि पहल गर्ने सभापति आचार्यले बताए । साथै नयाँ सोचसहित केही गर्न अघि सरेका नवउद्यमीहरुको पहिचान गरी उनीहरुलाई अगाडि बढ्न आवश्यक पूँजी लगानी स्वरुप जुटाई सहयोग गर्ने योजना पनि सुनाए ।
‘समितिले ५० लगानीकर्ता, ५० उद्यम’, स्टार्टअपहरुको छनौट पहिलो ३ महिनाको मेन्टरसीप, प्रत्येक महिनाको पहिलो शुक्रबार सफल उद्यमीसँग स्टार्टअपहरुलाई सहयोग पुग्ने गरी ज्ञान श्रृंखलाको रुपमा प्रत्येक अंग्रेजी महिनाको पहिलो शुक्रबार फस्र्ट फ्राइडे टक आयोजना गर्ने, स्टार्टअपहरुलाई आवश्यक पर्ने स्रोतसँगै अन्य आवश्यक कार्यहरु उपलब्ध गराउन महासंघकै सचिवालमा केन्द्र स्थापना गर्ने, स्टार्ट डाइरेक्टरी बनाउने र पोलिसी इन्टरभेन्सन जना कार्यहरु गर्ने सभापति आचार्यले जानकारी दिए ।
FACEBOOK COMMENTS