काठमाडौं, कार्तिक २८ – पूर्वअर्थ राज्यमन्त्री तथा व्यापारी रुप ज्योतिको पक्राउबारे नेपाल घरेलु तथा साना उद्योग महासंघले आपत्ति जनाएको छ ।
महासंघले प्रेस विज्ञप्ति जारी गर्दै प्रतिष्ठित उद्योगपति डा. रुप ज्योतीलाई ठगि प्रकरणमा गिरफ्तार गरी अदालतमा पेश गरिएकोमा पूर्पक्षमा थुनामा राखी कारबाही अगाडी बढाउन दिएको निर्देशनप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
मुलुकको आर्थिक विकासमा महत्वपूर्ण योगदान पु¥याइरहेको प्रतिष्ठित व्यवसायिक घरानाका उद्योगपति डा. रुप ज्योतीलाई प्रहरीले विदेशबाट फर्कने क्रममा विमानस्थलबाट विना सूचना पक्राउ गरि हिरासतमा लिएको घटनामा गलत भएको महासंघको ठहर छ ।
दुई पक्ष बीचको व्यवहारिक कारोबारमा भएको असहमती र विवादलाई दुई पक्षबीच सरकारी वा अदालती रोहबरमा राखी समाधान खोज्न सक्ने अवस्था हुँदा हुँदै हिरासतमा राखिनु गलत भएको महासंघका अध्यक्ष श्याम प्रसाद गिरीले बताए ।
उद्योग व्यवसायको विकासमा महत्वपूर्ण योगदान पु¥याई कैंयौलाई रोजगारी दिदै आएको उद्योग प्रतिष्ठानका प्रमुख व्यक्तिलाई अपराधीलाई जस्तो हतारहतारमा पक्राउ गर्नु र पूर्पक्षका लागि थुनामा राखी कारबाही अगाडी बढाउन लगाउनु उचित नभएको तर्फ महासंघले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।
यसबाट मुलुकको उद्यम व्यवसायको क्षेत्रमा पर्नसक्ने नकारात्मक असरलाई न्यून गर्न डा. ज्योतीलाई सम्मानपूर्वक व्यवहार गरी रिहा गर्न आग्रह महासंघले गरेको छ ।
FACEBOOK COMMENTS