काठमाडौँ, मंसिर १३ – नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन आज बिहान ८ बजे देखी सुरू भएको छ । राजधानीका विभिन्न चार ठाउँमा एकसाथ मतदान सुरु भएको हो ।
वरिष्ठ उपाध्यक्षसहित विभिन्न पदका लागि महासंघको केन्द्रीय कार्यालय, टेकु, कार्की व्यांकेट बबरमहल र नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा मतदान सुरु भएको हो ।
तीन स्थानमध्ये नेपाल उद्योग वाणिज्य महासंघको सचिवालयमा वस्तुगत, कार्की व्यांकेट बबरमहलमा एशोसिएट र प्रज्ञा प्रतिष्ठान कमलादीमा जिल्ला तहको मतदान हुँदैछ ।कोरोना संक्रमित प्रतिनिधिका लागि भने प्रज्ञा प्रतिष्ठानमा मतदानको छुट्टै व्यवस्था गरिएको छ । शुक्रबार बन्दसत्र सकिएपछि शनिबार बिहान आठ बजेबाट मतदान सुरु भएको हो ।
महासंघको चुनावमा वरिष्ठ उपाध्यक्षका लागि चन्द्र ढकाल र किशोर प्रधान प्यानल बनाएरै प्रतिस्पर्धामा उत्रिएका छन् । महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै आगामी महाधिवेशनबाट स्वतःअध्यक्ष बन्नेछ । सोही प्रावधान अनुसार शेखर गोल्छा ५४ औं महाधिवेशनबाट महासंघको अध्यक्ष बन्दैछन् ।
महासंघको निर्वाचनमा एक हजार ११६ मतदाता रहेकामा ९०४ वटा एसोसियट, ६ वटा द्विराष्ट्रिय, १०१ वस्तुगत र १०५ जना जिल्ला नगर तर्फबाट मतदान गर्दैछन् ।
जिल्ला नगरतर्फ १८ सिट कार्यकारिणी सदस्यका लागि ३८ जना चुनावी मैदानमा छन् भने प्रदेशतर्फ ६सिटका लागि १४ उम्मेदवार चुनावी मैदानमा छन् ।
वस्तुगततर्फ १४ सिटका लागि २८ जना, एसोसिएटतर्फ १९ सिटका लागि ३१ र संस्थापक सदस्यतर्फ एक सिटका लागि तीन जना चुनावी प्रतिस्पर्धामा छन् ।
महासंघको २ केन्द्रीय सदस्यमध्ये प्रदेश १ बाट राजेन्द्र राउत र द्विराष्ट्रिय उद्योग वाणिज्य संघबाट सन्दीप अग्रवाल निर्विरोध निर्वाचित भइसकेका छन् । शनिबार अन्य पदका लागि मतदान भैरहेको छ ।
कोरोना महामारीका कारण चैतमा रोकिएको ५४ औं सधारणसभा पटकपटक स्थगित हुँदै मंसिर ११ गतेबाट सुरु भएको हो । ५४ औं साधारणसभाको उद्घाटन प्रधानमन्त्री केपी ओलीले भर्चुअल माध्यमबाट उद्घाट गरेको थिए ।
FACEBOOK COMMENTS