काठमाडौं, भदौ १६ – कोरोना संक्रमण अत्यधिक बढेपछि भदौ ४ गतेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी छ । पहिलो पटकको निषेधाज्ञाको समय सकिएपछि पछिल्लो पटक भदौ १७ गते राति १२ बजेसम्मलाई थप गरिएको थियो ।
जारी निषेधाज्ञाको समय बुधबार राति १२ बजे सकिँदैछ । उपत्यकामा जारी निषेधाज्ञाको समय बढाउनेरनबढाउने विषयमा छलफल गर्न उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरु भर्चुअल बैठक बस्दैछन् ।
निषेधाज्ञाको पूर्वसन्ध्यामा काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका सिडिओहरु छलफलमा जुटेका हुन् । मंगलबारको बैठकमा निषेधाज्ञामा निर्माण सामाग्री बोक्ने सवारी साधनहरुलाई समेत सञ्चालन गर्न दिने निर्णय हुनसक्ने बताइएको छ ।
दुई सातादेखि निषेधाज्ञा जारी भएकाले मानिसको दैनिकी कष्टकर बन्दै गएपछि केही निषेधाज्ञा खुकुलो बनाएर अघि बढ्ने निर्णय मंगलबारको बैठकले गर्ने एक प्रजिअले बताए ।
‘यस पटको निषेधाज्ञा केही लचिलो हुन्छ । निषेध गरिएका केही क्षेत्रलाई सञ्चालन गर्न दिनेबारे छलफल हुनेछ,’ ती प्रजिअले रातोपाटीसँग भने ।
मंगलबार बसेको तीन जिल्लाका प्रजिअको राय बुधबार मात्रै गृह मन्त्रालयमा पठाइनेछ ।
FACEBOOK COMMENTS