काठमाडौं, चैत ८ – कोरोना भाइरस ९कोभिड–१९० को त्रासले काठमाडौँ उपत्यकाबाट बाहिर जानेको सङ्ख्या एक्कासि बढेको छ । शुक्रबार करिब डेढ लाख जना उपत्यका बाहिर गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
कोरोना संक्रमण भित्रिन नदिन सरकारले शैक्षिक संस्था, अदालतलगायत कार्यालय बन्द गरेपछि काठमाडौंबाट मानिस आफ्नो घर फर्किने क्रम ह्वात्तै बढेको छ । प्रधामन्त्रीले शुक्रबार साँझ गरेको सम्बोधन पछि यात्रुको चाप अध्याधिक बढेको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले जनाएको छ ।
चैत १० गतेबाट यातयातलाई पनि बन्द गर्ने घोषणा भएपछि शनिवार झनै भिड बढेको छ ।अहिले काठमाडौंका सडक दसैंमा झैं खाली(खाली देखिन्छन् भने मानिसको भिडभाड पनि उति छैन। ट्राफिक प्रहरीका अनुसार पछिल्ला ३ दिनमा मात्रै ३ लाख २ हजार २ सय काठमाडौंबाट बाहिरिएका छन्।
आफ्नो गाउँ फर्किने मानिसको भिडले यतिबेला नयाँ बसपार्क, कलंकी, कोटेश्वर, गौशाला बल्खुलगायतका बसस्टेसनमा दसैंको जस्तै चहलपहल देखिएको छ।
बढी भाडा लिनेलाई कारबाही

तोकिएभन्दा बढी भाडा लिएको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ । काठमाडौँ बाहिर जाने यात्रुसँग तोकिएभन्दा बढी भाडा लिएको आरोपमा बारा घर भई बल्खु बस्ने मुकेशप्रसाद साहलगायत ११ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

बाहिर जाने यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिइरहेको सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो । जथाभावी भाडा उठाउनेलाई नियन्त्रण गर्न प्रहरी परिचालन गरिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।