काठमाडौं, भदौ ५ – कोरोनाको भाइरसको सङ्क्रमणबाट बच्न काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी नगरिएको भए आज बिहानैदेखि पशुपतिमा तीजका बर्तालु लाखौँ महिलाको भीड हुन्थ्यो ।
भीड व्यवस्थापन गर्न हजारौँ सुरक्षाकर्मी र स्वयंसेवक पनि खटिएका हुन्थे । प्रत्येक वर्ष भाद्र शुक्ल तृतीयाका दिन बिहान पशुपति क्षेत्रमा लाखौँ बर्तालु महिला देवादिदेव महादेवको पूजा आराधना गर्न पुग्थे । यस वर्ष कोरोनाको महामारीका कारण पशुपतिनाथ मन्दिर क्षेत्र सुनसान छ । काठमाडौँ उपत्यकालगायत देशभरका मुख्य शिवालयमा पनि नित्य पूजा बाहेक सबै गतिविधि बन्द गरिएको छ ।
कोरोनाको महामारी नभएको पशुपति क्षेत्र विकास कोषका पदाधिकारी एवम् कर्मचारीलाई तीजको मेला व्यवस्थापनका लागि बिहानैदेखि पशुपति क्षेत्रमा सक्रिय हुनुपथ्र्यो । पशुपतिनाथको मूल मन्दिर चैतदेखि नै बन्द रहेको र परिसरमा पनि निषेधाज्ञाका कारण भक्तजन आउन नसक्ने भएकाले मेला व्यवस्थापनका लागि यस वर्ष तयारी नगरिएको कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडा बताउनुहुन्छ ।
पशुपति क्षेत्रमा तीजको मेला लाग्दा तिलगङ्गाबाट चावहिलसम्मको चक्रपथको मूल सडकसमेत प्रभावित हुने गरेको थियो । चावहिलका ८१ वर्षीय वृद्ध श्यामसुन्दर केसी आफ्नो जीवनकालमा पहिलोपटक तीजको व्रतका दिन पशुपति क्षेत्र सुनसान देखेको बताउनुहुन्छ । साउनमा भने धेरै भक्तजनले पशुपतिमा परिसरसम्म पुगेर बाहिरबाटै दर्शन गरी फर्किएका थिए ।
पशुपतिमा जस्तै राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर पनि साउनदेखि नै बन्द गरिएको छ । पशुपतिनाथ मन्दिर चैतदेखि बन्द भएपछि धेरै भक्तजन साउनको सोमबार गोकर्णेश्वरमा भेला हुन थालेपछि कोरोनाको महामारी फैलने डरले गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र प्रबन्ध समितिले साउनदेखि नै मन्दिर बन्द गरेको थियो ।
गोकर्णे औँसी भनिने बाबुको मुख हेर्ने दिन पनि यस वर्ष गोकर्णेश्वर महादेव मन्दिर बन्द गरिएको थियो । कोरोनाबाट बच्न काठमाडौँ उपत्यकामा निषेधाज्ञा, देशका धेरै जिल्लामा बन्दाबन्दी जारी गरिएकाले यस वर्ष तीजका बर्तालुले घर घरमै देवादिदेव महादेवको पूजा आराधना गरी हरितालिका (तीज) पर्व मनाउँदैछन् ।
आजका दिन सक्नेले निराहार, नसक्नेले जलाहार र त्यो पनि नसक्ने फलाहार व्रत बस्ने गरेका छन् । प्रायःजसो बर्तालु महिला नै हुन्छन् ।
संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको छ । जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ । सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ ।
भाद्र शुक्ल चौँथीका दिन तीज व्रत समापनका लागि गोदान, पूर्णपात्र गरी गणेश चतुर्थीका अवसरमा विघ्न विनाशक गणेशको पूजा आराधना हुन्छ । आइतबार अरुन्धतीसहित सप्तऋषिको विधिपूर्वक पूजा आराधना गरेपछि चार दिने तीज पर्व समाप्त हुन्छ ।
FACEBOOK COMMENTS