काठमाडौँ, भदौ १० – उपत्यकास्थित तीनवटै जिल्ला प्रशासन कार्यालयको संयुक्त सुरक्षा बैठकले भदौ ३ गतेबाट जारी गरिएको निषेधाज्ञा अवधि बढाउनेबारे बुधबार बैठक बसेर निर्णय लिने भएका छन् ।
तीनवटै जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) बैठकले भदौ १७ गते रातिसम्म निषेधाज्ञा अवधि बढाउन सिफारिस गरे पनि यसबारे बुधबार मात्रै बैठक बसेर निर्णय लिइने काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए ।
मंगलबार दिनभर जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरको जिल्ला सुरक्षा समिति, डिसीसीएमसी र स्थानीय तहका प्रमुख र प्रतिनिधिहरुबीच छलफल भएको थियो । छलफकै क्रममा तीन जिल्लाकै डिसीसीएमसीको संयुक्त बैठकले निषेधाज्ञा बढाउन प्रजिअहरुलाई सिफारिस गरेको थियो ।
डिसीसीएमसीले निषेधाज्ञा १७ गतेसम्म बढाउन सिफारिस गरिसकेको छ, आज तीनजिल्लाकै प्रमुख जिल्ला अधिकारी बसेर यसबारे निर्णय लिन्छौं, प्रजिअ दाहालले भने । मंगलबार ३ जिल्लाकै प्रजिअहरुले गृहमन्त्रालयसँग पनि परामर्श गरेका थिए । त्यसपछि बबरमहलस्थित काठमाडौं प्रशासनमा आएका तीनैजना प्रजिअ बुधबार बैठक बस्ने गरी बाहिरिएका हुन् ।
त्यसअघि काठमाडौंका प्रजिअ दाहालको अध्यक्षतामा तीनवटै जिल्लाको डिसीसीएमसी बैठक बसेको थियो । सोमबार उपत्यकाभिका नगर प्रमुखको भेला तथा भक्तपुर र ललितपुरको जिल्ला सुरक्षा समिति बैठकले पनि निषेधाज्ञा एकसाता थप्न सिफारिस गरेका थिए । त्यही सिफारिस तीन जिल्लाकै संयुक्त रुपमा बसेको डिसीसीएमसी र सुरक्षा समिति बैठकले अनुमोदन गरेको थियो ।
यसअघि जारी गरिएको निषेधाज्ञा भोलि बुधबार राति १२ बजेसम्मलाई छ ।
FACEBOOK COMMENTS