काठमाण्डौं-नेपाल उद्योग वाणिज्य महासंघले संघीय संसदको उद्योग, वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित समितिका जेष्ठ सदस्य तथा सभापति माननीय मुकुन्द प्रसाद न्यौपाने संग भेटगरी उपभोक्ता संरक्षण सम्वन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७५ मा निजी क्षेत्रका तर्फबाट सुझाव प्रस्तुत गरेको छ ।
उक्त विधेयक हाल संघीय संसदमा छलफलको क्रममा रहेको छ ।
महासंघले १४ बुँदे सुझाव तथा धारणामा विधेयकको सम्बन्धमा पेश गरेको छ ।
बुँदामा सम्बन्धित सरोकारवाला पक्षहरूसंग गहन छलफल गरिनु पर्ने, विधेयकमा प्रयोग भएका अनिश्चित, अस्पष्ट एवं असिमित अर्थ जाहेर गर्ने शब्दहरु स्पष्ट गरिनु पर्ने, इजाजत लिएको बस्तु मात्रै पैठारी गर्न पाउने व्यवस्था पुनरविचार हुनु पर्ने, बिक्री भैसकेको बस्तु फिर्ता सम्बन्धी व्यवस्थामा पुनरविचार गरिनु पर्ने, बस्तु वा सेवाको मूल्य निर्धारणमा नियन्त्रण सम्बन्धी व्यवस्था पुनरविचार हुनु पर्ने, सम्पूर्ण बस्तुको मूल्य सूची अनिवार्य राख्नु पर्ने एवं मूल्य सूचना केन्द्र सम्बन्धी व्यवस्था, बस्तु तथा सेवाको मूल्यको मापदण्ड निर्धारण गर्ने ब्यवस्था पुनरविचार गरिनु पर्ने रहेका छन् ।
त्यसैगरी केन्द्रीय बजार अनुगमन समितिको गठन सम्बन्धी व्यवस्था, थुना राख्ने तथा तत्काल जरिवाना गर्न सक्ने निरीक्षण अधिकृतको अधिकार सम्बन्धी व्यवस्था, कसुर र सजाय सम्बन्धी ब्यवस्था, कैद र जरिवाना वा दुवै सजाय गर्ने जिल्लाका प्रशासकिय निकायका पदाधिकारी तथा विभागका महानिर्देशकको अख्तियारी सम्बन्धमा, पुनरावलोकन धरौटी सम्बन्धी ब्यवस्था, पाँच वर्षसम्म कैदको सजाय हुने ब्यवस्था सम्बन्धमा र खारेजी÷बचाउमा महासंघले आफ्ना धारणा तथा सुझाव दिएको जनाएको छ ।
उक्त विधेयकमा उल्लेख गरिएका कतिपय व्यवस्थाहरूले उद्यम, व्यवसाय र व्यापारमा पार्ने प्रतिकूल प्रभावहरूका सम्बन्धमा गहन छलफल, अध्ययन, विश्लेषण, विवेचना पश्चात राय सुझाव लिई महासंघले उक्त सुझाव एवं धारणा तयार गरेको हो ।
विधेयकमा प्रस्तुत कतिपय व्यवस्था हुबहु पारित गरिए मुलुकभित्र उद्योग व्यवसाय गर्ने वातावरण पूर्णत प्रतिकुल हुने हु“दा त्यसलाई समयमै संवोधन गर्न सभापति न्यौपाने समक्ष महासंघका अध्यक्ष राणाले आग्रह गरिन ।
महासंघका पूर्व अध्यक्ष एवं विशिष्ट सदस्य चण्डिराज ढकाल, महासंघका उपाध्यक्षहरू किशोर कुमार प्रधान, उमेश लाल श्रेष्ठ र चन्द्र प्रसाद ढकाल, महासंघको प्रदेश नं ३ का अध्यक्ष दिनेश श्रेष्ठ लगाएको प्रतिनिधिको टोलीले भेटेको थियो ।
FACEBOOK COMMENTS