काठमाडौँ, माघ २४ – युभेन्ट्सका सुपर स्टार क्रिस्टियानो रोनाल्डोले शुक्रबार ३६ औं जन्म दिन मनाएका छन् । उमेर बढ्दै गएपनि मैदानभित्र रोनाल्डोको प्रभाव रोकिने कुनै संकेत देखिँदैन । यसै वर्ष उनीई फुटबल इतिहासकै सर्वाधिक गोलकर्ता पनि बने । उनले आफ्नो खेल जीवनमा ७ सय ६३ गोल गरिसकेका छन् ।
कोपा इटालियामा इन्टर मिलानविरुद्धको सेमिफाइनलमा २ गोल गरेपछि उनले पेले र जोसेफ बिकानलाई पछाडि छाडेका छन् । ‘उमेरले खासै महत्त्व राख्दैन । मानसिकता मुख्य हो’, डिसेम्बरमा रोनाल्डोले बिबिसीलाई भनेका थिए, ‘म वर्तमानमा बाच्छु र भविष्यप्रति आशावादी हुन्छु । म अझै धेरै वर्ष यसरी नै खेल्न चाहन्छु ।’
सन्यासका विषयमा पनि उनको बुझाई प्रष्ट छ । ‘मैदानमा शरीरले राम्रो प्रतिक्रिया दिन नसक्ने भएपछि सन्यास नजिएको बुझ्नु पर्ने हुन्छ’, सन् २०१९ मा ग्लोब सकर अवार्ड ग्रहण पछि उनले भनेका थिए, ‘अहिलेको दिनमा ४० वर्षको उमेरमा पनि खेलाडीहरु खेलिरहेका देखिन्छन् ।’
फुटबल इतिहासकै सर्वाधिक गोलकर्ता रोनाल्डो रियल म्याड्रिड, च्याम्पियन्स लिग र पोर्चुगलका पनि उच्च गोलकर्ता हुन् । रियलमा उनले ४ सय ५१ गोल, च्याम्प्यिन्स लिगमा १ सय ३५ र पोर्चुगलका लागि १ सय २ गोल गरेका छन् । राष्ट्रिय टोलीबाट सर्वाधिक गोल गर्ने खेलाडीको सुचीमा रोनाल्डो दोस्रो स्थानमा छन् । उनी भन्दा अघि अलि दाई छन् । उनको नाममा १ सय ९ गोल छ । रोनाल्डोले गोलको पहिलो स्वाद चाखेको झन्डै २ दशक पुग्न लागेको छ ।
‘वर्षौदेखि उनले जसरी खेलिरहेका छन् त्यस आधारमा रोनाल्डोले आफ्नो शरीरलाई निकै चलाखीपूर्ण रुपमा रुपान्तरण गरेका छन्’, डाक्टर पेद्रो लुइस रिपोलले भने, ‘सुरुवातमा उनले शरीरलाई बलियो र तीब्र गतिको बनाएका थिए । पछि उनले शरीर बनाउनका लागि मेहनत गरे र सन्तुलित खानामा ध्यान दिए ।’
रोनाल्डोको गोलीगाँठाको शल्यक्रिया गर्ने डाक्टर भान डिकका अनुसार उनी दिनमा २४ घन्टानै उच्च व्यवसायिक खेलाडी हुन् । के खाने, कसरी सुत्ने त्यसो सबै उनलाई राम्ररी थाहा भएको उल्लेख गर्दै डाक्टर रिपोलेले भने, ‘त्यसैले उनी ३६ वर्षको उमेरमा पनि त्यो भन्दा कम जस्तै लाग्छन् । उनी जितका लागि सधै तयार हुन्छन् । उनी कहिले पनि आफ्नो प्रदर्शनबाट सन्तुष्ट हुँदैन । हरेक समय आफैबाट बढी अपेक्षा राख्छन् ।’
‘च्याम्पियन्सको मुख्य चिज भनेको मस्तिष्क हो । त्यसकै आधारमा कति चतुर, वास्तविकता बुझ्ने क्षमता र शरीरको क्षमता अनुसार आफ्नोतर्फबाट उत्कृष्ट दिन सकिन्छ’, उनले थपे, ‘उनी साच्चै उत्कृष्ट विजेता हुन् । मलाई लाग्छ उनी ४० को उमेर सम्म खेल्न सक्छन् ।’
स्पेनिस रिकार्डो लोपेजले युनाइटेडमा रोनाल्डोसँग खेलेका थिए । ‘युवा अवस्थामा नै उनले रोय किन र रायन गिग्सको जस्ता हस्तीसँग प्रतिस्पर्धा गरेका थिए । १८ वर्षको उमेरमा पनि उनको अद्भुत शरीरिक क्षमता, प्राविधिक रुपमा पनि उस्तै र मानसिक रुपमा पनि बलिया थिए’, लोपेजले भने, ‘युनाइटेडमा उनले आफूलाई विङ्रका स्थापित गरे । जो मिडफिल्डमा खेल्ने कोशिश गर्थे । उनले पहिलो सिजन गोलका लागि निकै संघर्ष गरेका थिए ।’
रोनाल्डोले युवा अवस्थामा पनि किन र गिग्सबाट सम्मान पाउनका लागि मेहनत गर्ने र कहिल्यै आत्मसमर्पण नगर्ने स्वभावको भएको लोपेजले स्मरण गरे । उनले थपे, ‘अहिले उनी स्ट्राइकर हुन् र उनको उद्देश्य भनेको गोल गर्नु हो । उनलाई थाहा छ कसरी माहोलमा भिज्ने । उनी अर्कै दुनियाका हुन् ।’
रोनाल्डो सधैं धेरै समर्पित व्यक्ति भएको पनि लोपेजले बताएका छन् । ‘हरेक खेल सुधारका लागि प्रयास गर्ने र फुटबललाई माया गर्ने खलाडी हुन्’, उनले भने, ‘सँगै खेल्नेहरुमा उनले उत्कृष्ट गरिरहेका छन् । उनी एकपछि अर्को कीर्तिमान भंग गरिरहेका छन् र भविष्यमा पनि गर्नेछन् । उनले इतिहास बनाएका छन् । उनी नम्बर एक हुन् ।’
FACEBOOK COMMENTS