काठमाडौं, भदौ ५ – नेपाल सरकारले एक जना कोरोना संक्रमित फेला पार्न एक लाख ४ हजार भन्दा बढी खर्च भएको जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म संक्रमित पत्ता लगाउन मात्र राज्यले ३ अर्ब १८ करोड ९४ लाख ४४ हजार ५ सय रुपैयाँ खर्च गरेको छ।
शुक्रबार नियमित कोरोना अपडेट गराउने क्रममा गौतमले भने, ‘पीपीई बाहेक ल्याव परिक्षणमा मात्र प्रतिव्यक्ति ५ हजार ५ सय रुपैयाँ राज्यले खर्च गर्दैछ ।’ उनले हालसम्म फेला परेका संक्रमितको संख्या ३० हजार ४ सय ८३ रहेको जनाउँदै भएको खर्च र संक्रमितको संख्याको अनुपातको आधारमा एक जना संक्रमित पत्ता लगाउन राज्यले एक लाख ४ हजार ६ सय २० रुपैयाँ खर्च गरेको बताएका हुन् ।
राज्य कोषको एक लाख जोगाउन कै लागि भएपनि घरबाट बाहिर ननिस्किन र निस्कनै पर्दा समेत दुई मिटरको सामाजिक दुरी अनिवार्यरुपमा कायम गर्न अनुरोध गर्दै उनले थपे, ‘कोरोनाको उपचार अति नै खर्चिलो छ । यदि कुनै बिरामीलाई ३० दिन आइसियूमा राख्नु पर्यो भने ४ लाख ५० हजार राज्यले तिर्नु पर्छ ।’
हाल देशका जम्मा ४ वटा जिल्ला भोजपुर, मुस्ताङ, म्याग्दि र हुम्ला बाहेक सबै जिल्लामा कोरोना संक्रमित रहेको समेत उनले बताए ।
FACEBOOK COMMENTS