काठमाडौं, पुष ३ – नेपालकै पहिलो ओटीए प्लेटफर्म एक्सलट्रिप दोस्रो वर्षमा प्रवेश गरेको छ । कम्पनीले देश तथा विदेशमा हवाई टिकेट तथा होटेल बुकिङको सेवा उपलब्ध गराउँदै आएको छ ।एक्सलट्रिपको मोबाइल एप र वेबसाइटमार्फत देशका ५ वटै घरेलु तथा ४५० वटा अन्तर्राष्ट्रिय एयरलाइन्सबाट २ सय भन्दा बढी गन्तव्यको टिकेट बुकिङ गर्न सकिन्छ । त्यसैगरी यसबाट देशका ८०० भन्दा बढी र संसारभरका २३ लाखभन्दा बढी होटेलको बुकिङ गराउन समेत सकिन्छ ।
एक्सलट्रिपमा प्रभु पे, ईसेवा, फोन पेका साथै विभिन्न बैंकका मोबाइल बैंकिङ एप तथा कार्ड प्रयोग गरी नेपाल भित्र तथा अन्य देशको सेवा लिनका लागि डिजिटल भुक्तानी गर्न सकिन्छ । ‘हामी ग्राहकलाई ब्लकचेन प्रविधिमार्फत सोझै होटेल र एयरलाइन्ससँग जोड्दै आएका छौं,’ कम्पनीका सीईओ ज्ञानेन्द्र खड्का भन्छन् ।
यसले सबै मध्यस्तकर्तालाई हटाएर ग्राहक र व्यवसायलाई सोझै जोड्ने गरेको उनले बताए । त्यतिमात्रै नभएर एक्सेलट्रिपले ग्राहकलाई होटल बुक गर्दा आउने समस्या समाधानका लागि होटलसँग सोझै कुराकानी गर्न सकिने सुविधा पनि दिएका छ ।
यसले गर्दा ग्राहकले समस्या भोग्नुपर्ने झन्झट समेत हुँदैन । खण्ड्काका अनुसार एक्सलट्रिपमा ग्राहकले आफ्नो बजेटअनुसारको होटल बिडिङ पनि गर्न सक्नेछन् । उदाहरणको लागि तपाईंको दैनिक बजेट ५ हजार रुपैयाँ छ ।
तपाईंले ‘मेरो दैनिक बजेट ५ हजार छ, मलाई रिङरोड क्षेत्रको थ्री स्टारमाथि जुनसुकै होटल भएपनि हुन्छ,’ भनेर सर्च गर्नु भयो भने त्यो सन्देश वरपरका होटेलहरुमा जान्छ । होटेलहरुले त्यसलाई स्वीकार गर्न सक्छन् । त्यसपछि ग्राहक आफैंले कुन होटेलमा बस्ने भनेर विकल्प रोज्न सक्छन् । अर्कोतर्फ होटेलको हकमा समेत एक्सलट्रिपले नयाँ आयाम ल्याएको छ ।
‘अहिलेको समस्या भनेको रुम बुक भएर ग्राहक फर्किसक्दा समेत होटल सञ्चालकले पैसा पाउँदैनन्,’ खण्ड्का भन्छन्, ‘अन्य ओटीए प्लेटफर्मले तीन सातासम्म होटलको पैसा होल्ड गरेर राखिरहेका हुन्छन् । तर एक्सल ट्रिपले भने होटल चेकआउट भएको दुईदेखि पाँच दिनभित्र होटेललाई पैसा उपलब्ध गराउँदै आएको छ ।’
खण्ड्काका अनुसार एक्सलट्रिप सञ्चालन गरेदेखि हालसम्म १० मिलियन डलर अर्थात करिब एक अर्ब १८ करोड रुपैयाँ खर्च भइसकेको छ । हालसम्म कम्पनीले नाफा कमाउनेभन्दा पनि प्रयोगकर्ता बढाउने र व्यापार प्रवर्द्धन गर्नेतर्फ जोड दिँदै आएको छ ।
त्यस्तै नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा एक्सलट्रिपले ‘नेपालको पर्यटन प्रवर्द्धन हाम्रो दायित्व’ नाराका साथ ‘प्रमोटिङ नेपाल र प्रमोटिङ डोमेस्टिक टुरिजम नेपाल’ अभियान नै सञ्चालन गर्दै आइरहेको छ ।
FACEBOOK COMMENTS