काठमाडौं, भदौ ६ । राजश्व अनुसन्धान विभागले अवैध रुपमा सुन ओसारपसार गर्ने एक जना विरुद्ध विदेशी विनिमय अपचलनको मुद्दा दायर गरेको छ ।
रसुवा जिल्ला गोसाइकुण्ड घर भएका पेम्बा ढिण्डुप तामाङ विरुद्ध काठमाडौं जिल्ला अदालतमा राजस्व चुहावट तथा विदेशी विनिमय अपचलनको मुद्दा दायर भएको हो । बिना इजाजत अन्य मुलुकबाट भन्सार चोरी पैठारी गरी राजस्व चुहावट गरी सुन ल्याएको भन्दै निजलाई राजस्व चुहावट ऐन, २०५२ को दफा ४ (क) र (ग) बमोजिम मुद्दा दायर भएको हो ।
काठमाडौं जिल्ला, चन्द्रागिरी नगरपालिका, नागढुंगा सडकमा चेकजाँच गर्ने क्रममा बा.९० प २७३६ नम्वरको मोटर साइकलमा विना बिलबिजक लुकाई छिपाइ ल्याउदै गरेको अवस्थामा उनी पक्राउ परेका थिए । उक्त सुन चीनको केरुङबाट ल्याएको हो भनी तामाङले आफै बयान दिएका थिए ।
तामाङका साथबाट बरामद भएको एक केजी अवैध सुनको बिगो ५५ लाख ७३ हजार कायम गरी काठमाडौं जिल्ला अदालत मुद्दा दर्ता गरिएको जानकारी विभागले दिएको हो ।
FACEBOOK COMMENTS