काठमाडौं– चिनियाँ नागरिकले बैंकिङ प्रणाली ह्याक गरेर एटिएमबाट पैसा झिकेको बारे अनुसन्धान गर्न बनेको टोलीले कहाँ कमजोरी भयो भन्ने विषयनै पत्ता लगाउनै सकेन ।
राष्ट्र बैंककै भुक्तानी तथा फर्छ्यौंट विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रको संयोजकत्वमा समिति बनेको थियो ।
राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जिबी नेपाललाई प्रतिवेदनमा टोलीले सुरक्षात्मक उपायहरु के के हुनसक्छन् भनेर कार्यान्वयन गर्नु पर्ने बिषयहरु सुझाबका रुपमा दिएको छ।
टोलिका संयोजक बमबहादुर मिश्रले भने ‘अहिलेसम्म प्राप्त विवरणहरुका आधारमा हामीले प्रतिवेदन तयार पारेका हौं। केही सुझाबहरु पनि दिएका छौं ।’
टोलीले नेप्स र भिसा तथा सम्बन्धि बैंकहरुसँग सहकार्य गरेर प्रतिवेदन बनाएको छ। उनीहरुले दिएको तथ्याङ्कका आधारमा नेपालभित्रबाट १ करोड ६८ लाख रुपैयाँ र भारतबाट भारु १ करोड ५ लाख रुपैयाँ झिकिएको छ। भारतबाट झिकिएका केही रकम भने बास्तविक ग्राहकले नै झिकेको पनि भेटिएको छ।
‘अहिले नै हामीले यति रकम लुटिएको रहेछ भन्न सक्ने अवस्था छैन’ उनले भने, ‘लुटिएको मध्ये सवा करोड रुपैयाँ चिनियाँहरुबाट बरामद भएको छ। ठूलो क्षति भएको छैन। तर सुधार हुन भने आवश्यक छ।’
टोलीले अहिलेसम्म चिप कार्ड प्रयोग नगरेका बैंकहरुलाई तत्काल प्रयोगमा ल्याउन भनेको छ। साथै चिप कार्डलाई सपोर्ट हुने खालको नयाँ एटिएम जडान गर्न पनि भनिएको छ।
वास्तविक घटनाका बारेमा अध्ययन गर्न सिङ्गापुरबाट फरेन्सिक टोली नेपाल आइसकेको छ।
बैंकका एटिएममा चिनियाँ भाषा प्रयोग भएकाले उनीहरुलाई लुट्न सजिलो भएको अनुसन्धानमा देखिएको छ।
FACEBOOK COMMENTS