काठमाडौं, मंसिर २४ – सरकारले एसियाली विकास बैंक तथा विश्व बैंकले प्रदान गरेको ऋण तथा अनुदान सहयोग स्वीकार गर्ने निर्णय गरेको छ। यहि मंसिर १५ तथा १८ गते बसेको मन्त्रिपरिषद्को बैठकले छुट्टाछुट्टै शिर्षकमा आएको सहयोग स्वीकार गर्ने निर्णय गरेको हो।
सरकारका प्रवक्ता तथा सूचना तथा संचार प्रविधि मन्त्री पार्वत गुरुङले आज मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै करिव १५ अर्ब हाराहारीमा आएको सहयोग स्वीकार गर्ने निर्णय भएको जानकारी दिए।
मन्त्री गुरुङले भने ‘१५ मंसिरमा बसेको मन्त्रिपरिषद् बैठकले प्राथमिकता प्राप्त नदी बेसिन बाढी जोखिम व्यवस्थापन आयोजनाका लागि एसियाली विकास बैैंकबाट ४० मिलियन डलर अर्थात् ४ अर्ब ७७ करोड बराबरको सहुलियतपूर्ण ऋण लिने निर्णय गरेको छ। सोही आयोजनाका लािग १० मिलियन डलर अर्थात् १ अर्ब १९ करोड बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय समेत भएको छ।’
त्यस्तै मंसिर १८ मा बसेको मन्त्रिपरिषद् बैठकले ग्रामिण उद्यम तथा आर्थिक विकास परियोजना संचालन गर्न विश्व बैंकबाट ९ अर्ब ३८ करोड अर्थात् ८० मिलियन डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय समेत गरेको मन्त्री गुरुङले जानकारी दिए।