काठमाडौं, वैशाख ९ – एनआईसी एशिया क्यापिटल लिमिटेडले अब एक घण्टामै डिम्याट खाता खोल्ने भएको छ । ‘एक नेपाली, एक डिम्याट खाता’ अभियान सञ्चालन गरी डिम्याट खाताको पहुँच आम जनतामाझ पुर्याउन विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको क्यापिटलले ‘एनआईसी एशिया अनलाइन डिम्याट सेवा’ उपत्यका बाहिरबाट समेत सञ्चालन गरेको छ ।
यो सेवा सञ्चालनसँगै अब उपत्यका बाहिरबाट समेत अनलइनमार्फत निःशुल्क डिम्याट खाता खोल्न सकिने भएको छ । एनआईसी एशिया क्यापिटलले पछिल्लो समयमा कोरोना माहमारीको दोस्रो लहर फैलिने क्रम देखिएकाले, कोरोना संक्रमणबाट बच्न र समुदायमा फैलिन नदिन तथा उपत्यकाबाहिरबाट डिम्याट खाता खोल्न सकिने व्यवस्था गरेको जनाएको छ । यो सँगै देशका सम्पूर्ण क्षेत्रबाट अनलाइनमार्फत सहजै रुपमा निःशुल्क डिम्याट खाता खोल्न सकिने भएको छ ।
एनआईसी एशिया क्यापिटलले उपत्यकाबाहिर समेत सेवा सञ्चालन गरेको उपलक्ष्यमा आगामी असारमसान्तसम्म अनलाइनमार्फत डिम्याट खाता खोल्ने ग्राहकका लागि निःशुल्क डिम्याट खाता खोल्न सकिने व्यवस्था समेत गरेको क्यापिटलले जनाएको छ ।
अनलाइनबाट डिम्याट खाता खोल्नका लागि एनआईसी एशिया क्यापिटलको वेभसाइट वा सोझै क्लिक गरी रितपूर्वक विवरण भरी उक्त विवरण ‘सक्सेसफुल्ली सबमिशन’ भएको १ घण्टाभित्र डिम्याट खाता नम्बर उपलब्ध गराइने क्यापिटलले जनाएको छ । साथै उक्त एक घण्टाभित्र सुविधा आइतबारदेखि बिहीबारसम्म दिनको ४ बजे र शुक्रबार दिनको १ बजेसम्म उपलब्ध हुने बताइएको छ ।
साथै, हालको व्यवस्था अनुसार डिम्याट खाता खोल्न स्वयम् व्यक्ति उपस्थित हुनुपर्ने भएकाले अनलाइनमार्फत डिम्याट खाता खोल्ने ग्राहकहरूले खाता ‘सक्सेसफुल्ली सबमिशन’ भएको मितिले १५ दिनभित्र एनआईसी एशिया क्यापिटल लिमिटेड वा आफूलाई पायक पर्ने कुनै पनि नजिकको एनआईसी एशिया बैंक लिमिटेडको शाखा कार्यालयमा सम्पर्क गर्न पनि क्यापिटलले अनुरोध गरेको छ ।
FACEBOOK COMMENTS