काठमाडौं, जेठ ११ – एनआईसी एशिया बैंकका ग्राहकले अनलाइनबाटै प्रिपेड डलर कार्डका लागि आवेदन दिन सक्ने भएका छन् । मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी जुनसुकै स्थान र समयमा बैंकको वेबसाइट तथा मोबाइल बैंकिङ ‘एनआईसी एशिया मो–बैंक’ एपको आई–सर्भमार्फत यो सुविधा प्रयोग गर्न सकिने बैंकले जनाएको छ ।
विभिन्न विदेशी अनलाइन माध्यमहरूबाट खरिद गरिने सामग्री तथा सेवाको खरिद रकम स्वदेशबाटै भुक्तानी गर्न सकिने सुविधा भएको प्रिपेड डलर कार्डमार्फत बैंकका ग्राहकले वार्षिक अधिकतम ५०० अमेरिकी डलर बराबरको अनलाइन खरिदमा भारत र भुटानबाहेक अन्य मुलुकमा भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ । डिजिटल बैंकिङलाई आत्मसात गर्दै गतिशील बैंकिङको अभ्यास गर्दै आएको एनआईसी एशिया बैंकले पछिल्लो समय यो नवीनतम् सुविधा ग्राहकमाझ ल्याएको हो ।
बैंकका ग्राहकले बैंकको ‘सेल्फ हेल्प बैंकिङ प्लेटफर्म– आई–सर्भ’भित्र ‘कार्ड सर्भिस’मा क्लिक गरी ‘डलर कार्ड रिक्वेस्ट’मा गई आफ्नो नाम, खाता नम्बर, मोबाइल नम्बर एवम् ई–मेल ठेगाना र प्यान नम्बरलगायत विवरण उल्लेख गरी आवेदन दिन सक्ने छन् । उक्त विवरण भरेपछि मोबाइल नम्बरमा ‘ओटीपी’ प्राप्त हुने र उक्त ‘ओटीपी’ राखेर आफ्नो आवेदन भेरिफिकेशन गर्न ससकिने बैंकले जनाएको छ ।
त्यसपछि ग्राहकले आफूलाई आवश्यक परेको डलर रकम न्यूनतम २५ डलरदेखि अधिकतम ५०० डलर बराबरको रकम कार्डमा लोड गर्न सक्ने छन् । यसरी रकम लोड गरेपछि एनआईसी एशिया बैंकको आफूलाई पायक पर्ने शाखा छनोट गरी कार्डका लागि पूरा आवेदन दिन सक्ने छन् । यसरी प्राप्त आवेदनको आधारमा बैंकले डलर कार्ड तयार गरी सम्बन्धित ग्राहकलाई एसएमएसमार्फत जानकारी गराउने छ र उक्त कार्ड निजले छनोट गरेको शाखा कार्यालयबाट बिना अतिरिक्त कागजी प्रक्रिया लिन सक्ने छन् ।
FACEBOOK COMMENTS