काठमाडौं, १३ माघ – १५औं संस्करणको एनएनआईपीए स्पोर्ट्स अवार्ड फागुन ८ गते भक्तपुरमा हुने भएको छ । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए)ले मंगलबार पत्रकार सम्मेलन गरी भक्तपुरको मध्यपुर ठिमीमा अवार्ड आयोजना गर्ने जनाएको हो ।
अवार्डलाई मध्यपुर ठिमी नगरपालिकाले मुख्य प्रायोजनसमेत गरेको छ । अवार्ड कार्यक्रम दुई पोखरीमा हुनेछ । अवार्डमा यस पटकदेखि राइजिङ प्लेयर अफ दी इयर विधा थप गरिएको संघका अध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए । यस अवार्डमा एक महिला र एक पुरुष खेलाडीलाई ५० हजार रुपैयाँसहित सम्मान गरिनेछ । एनएनआईपीए सर्वोत्कृष्ट महिला र पुरुष खेलाडीका लागि एक लाख रुपैयाँ, प्रतिभावान् महिला र पुरुष खेलाडीलाई ५० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।
अवार्डमा संघको सिफारिसका आधारमा १३औं दक्षिण एसियाली खेलकुद (साग)मा समावेश २६ खेलका खेलाडीलाई समावेश गरिने पनि आयोजकले जनाएको छ ।
vसागमा समावेश खेलबाट भविष्यमा उत्कृष्ट प्रदर्शन गर्ने सम्भावना देखिएका एक महिला र एक पुरुषलाई राइजिङ प्लेयर अफ दी इयर अवार्ड प्रदान गरिने पनि संघले जनाएको छ । सोही अवसरमा एक खेलकर्मीलाई गजराज जोशी आदर्श खेलाडी र एक खेलकुद पत्रकारलाई एनएनआईपीए खेल पत्रकारिताबाट पुरस्कृत गरिने बताइएको छ ।
FACEBOOK COMMENTS