काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा आइतबार जनकपुर बोल्ट्स र कर्णाली याक्सको खेलसँगै समूह चरण समाप्त भएको छ । प्रतियोगिताको प्लेअफ समीकरण पूरा हुँदा शीर्ष र पुछारका चार टिमको पनि टुंगो लागिसकेको छ ।
एनपीएल–२ को प्लेअफमा सुदूरपश्चिम रोयल्स, विराटनगर किंग्स, काठमाण्डू गोर्खाज र लुम्बिनी लायन्सले शीर्ष चारमा क्रमैसँग स्थान बनाए । पुछारका चारमा भने पोखरा एभेन्जर्स, कर्णाली याक्स, चितवन राइनोज र जनकपुर बोल्ट्स रहे ।
अंकतालिका
तालिकाको शीर्ष स्थानमा आसीन सुदूरपश्चिमले सात खेलबाट १२ अंक जोड्यो । सुदूरपश्चिमले लिग चरणमा ६ जित र एक खेलमा हार व्यहोर्यो ।
दोस्रो स्थानमा रहँदै प्लेअफ यात्रा तय गरेको विराटनगर किंग्सले सात खेलबाट १० अंक जोड्यो । विराटनगरले लिग चरणमा पाँच खेलमा जित र दुई हार व्यहोर्यो । सुदूरपश्चिम र विराटनगर प्रतियोगिताको पहिलो क्वालिफायरमा मंगलबार (मंसिर २३) भिड्दै छन् ।
तेस्रो स्थानमा रहेर प्लेअफमा स्थान बनाएको काठमाण्डू गोर्खाजले सात खेलबाट १० अंक नै जोड्यो । विराटनगरसँग नेट रनरेटमा पछि परेको काठमाण्डूले पाँच खेलमा जित र दुई हार व्यहोर्यो ।

चौथो स्थानको लुम्बिनी लायन्सले आठ अंक जोड्दै प्लेअफ यात्रा तय गर्यो । लुम्बिनीले लिग चरणका चार खेलमा जित र तीन पराजय व्यहोर्यो ।

पाँचौँ स्थानको पोखराले सात खेल खेल्दा तीन जित र चार हारसहित ६ अंक मात्र जोड्न सक्यो ।

छैटौँ र सातौँ स्थानका कर्णाली र चितवनले सात खेल खेल्दा समान दुई जित र पाँच हारसहित चार अंक जोडे । नेट रनरेटमा कर्णालीले चितवनलाई पछि पारेको हो ।

तालिकाको पुछारमा पहिलो सिजनको च्याम्पियन जनकपुर बोल्ट्स रह्यो । जनकपुरले लिग चरणमा सात खेल खेल्दा एक जित र ६ हारसहित दुई अंक मात्र जोड्यो ।

प्रतियोगिताको फाइनल खेल आउँदो शनिबार (मंसिर २७) हुने तालिका छ ।
FACEBOOK COMMENTS