काठमाण्डौँ — एनसेलको कर छली प्रकरण एजेन्डा संसदको सार्वजनिक लेखा समितिले फेरि छलफल सुरु गरेको छ ।
समितिले शुक्रबार बैठकको आयोजना गरी एनसेल बिक्रीको पुँजीगत लाभकर असुलीबारे सरकारी निकायहरूसँग जानकारी लिएको छ ।
अर्थ मन्त्रालयका राजस्व सचिव शिशिर ढुंगाना, आन्तरिक राजस्व विभागका महानिर्देशक विष्णु नेपाल र ठूला करदाता कार्यालयका प्रमुख धनीराम शर्माले पुँजीगत लाभकर असुली विषयको प्रगति विवरण पेस गरे ।
राजस्व सचिव ढुंगानाले एनसेलको ८० प्रतिशत सेयर बिक्रेता टेलियासोनेरा र २० प्रतिशत बिक्रेता निरजगोविन्द श्रेष्ठमाथि कर निर्धारण भएको जानकारी गराए ।
उनका अनुसार टेलियासोनेराका नाममा ६० अर्ब ७१ करोड २४ लाख ९६ हजार ९७ रुपैयाँ कर निर्धारण भएको छ ।
श्रेष्ठको नाममा छली भएको ११ अर्ब ८७ करोड ६ लाख ७ हजार ६ सय ३२ कर निर्धारण भएको छ ।
समितिका सभापतिले ‘कर असुल नभएसम्म विदेशी लगानीकर्ताको लाभांश रकम रोक्का राख्न सरकारलाई निर्देशन दिने’ निर्णय गर्नुपर्ने प्रस्ताव गरे ।
निर्देशनका लागि पछि माइन्युट गर्ने भन्दै समितिको शुक्रबारको बैठक सकियो ।
— कान्तिपुर
FACEBOOK COMMENTS