काठमाडौं– एनसेल बिक्रीमा पूँजीगत लाभकरको विषय फेरी बहसमा आएको छ ।
करिब चार वर्षअघि एनसेलको स्वामित्व युरोपेली कम्पनी टेलियासोनेराले मलेसियाको एक्जिएटालाई बिक्री गरेको थियो ।
बिक्री गर्दा लागेको पूँजीगत लाभकर असुलीको फाइल पेश गर्न सर्वोच्च अदालतले आदेश दिएसँगै एनसेल बिक्री प्रकरण फेरि बाहिर आएको हो।
सर्वोच्चका पाँच जना न्यायाधीशको पूर्ण वृहत इजलाशले एनसेलसँग सम्बन्धित चार वटा मुद्दाको सुनुवाई गर्दै फाइल मगाउने निर्णय गरेको छ।
ठूला करदाता कार्यालयले टेलियासोनेरालाई लाभकर, त्यसमा लाग्ने बिलम्ब जरिवाना, ब्याज तथा हर्जनासमेत गरी ६२ अर्ब रुपैयाँ कर निर्धारण गरेको थियो। तर यो रकमको करिब एक तिहाई मात्रै कर एनसेलले बुझाएको छ।
सर्वोच्चले मागेका सक्कल फाइल ठुला करदाता कार्यालयले यसअघि नै सरकारी वकिलको कार्यालयलाई पठाइसकेको छ। अब सरकारी वकिलको कार्यालयले यो फाइल अदालतमा पेश गर्नेछ।
FACEBOOK COMMENTS