काठमाडौं, ७ फागुन – लगातार तेस्रो खेल जित्दै सुदूरपश्चिमको स्टार सिटी युथ क्लब नेपालगञ्जमा जारी एन्फा प्रेसिडेन्ट लिग फुटबल प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ।
लुम्बिनी प्रदेशको धम्बोझी क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै सुदूरपश्चिम शीर्षस्थानमा पुगेको हो। यसअघि गोल अन्तरमा लुम्बिनी लिगको शीर्षस्थानमा थियो।
दुई–दुई खेल जितेका सुदूरपश्चिम र लुम्बिनीबीचको खेल प्रतिस्पर्धात्मक थियो। किपर विनय श्रेष्ठको गल्तीका कारण ८ मिनेटमै लुम्बिनीले गोल खाएको थियो।
सुदूरपश्चिमका टोपबहादुर विष्टले गोल गरेका थिए। डिफेन्सले ब्याक पास दिएको बललाई किपर श्रेष्ठले फुस्काउँदा सुदूरपश्चिमका विष्टले सजिलै गोल गरेका थिए।
किपरको गल्तीले गोल खाएपछि दबाबमा परेको लुम्बिनीलाई १७ मिनेट सुदूरपश्चिमका रुपबहादुर लामाले दोस्रो गोल थपे। डीएरिया बाहिर पाएको फ्रिकिकलाई लामाले गोलमा परिणत गरेका थिए। किपर श्रेष्ठले च्यापेर बसेको बारतिरबाटै लामाले गोल गरेका थिए।
लुम्बिनीले खेल फर्किने प्रयास गर्दै ६१ मिनेटमा गोल गर्यो। लुम्बिनीका विसन गुरुङले गोल गरेका थिए। लुम्बिनीका रक्षक आशिष गुरुङको गल्तीको फाइदा उठाउदै सुदूरपश्चिमका दीपकराज सिंह ठकुरीले ७४ मिनेटमा गोल गरेका थिए। आफ्नो पोजिटिसन छोडेर आफैले अगाडि बढाएको बल खोसिएर गोल भएपछि रक्षक गुरुङ धेरैबेरसम्म मैदानमा टाउकोमा हात समातेर बसेका थिए।
खेलमा सुदूरपश्चिमका रुपबहादुर लामा म्याद अफ म्याच भए।
अर्को खेलमा बागमतीको धादिङ समाजले २ नम्बर प्रदेशको मनकामना युवा क्लबलाई ३–० गोलले पराजित गरेको छ। तेस्रो खेल खेलेको बागमतीको यो दोस्रो जीत हो। बागमतीलाई जिताउन २५ मिनेटमा शिशिर लेखी, ६८ मिनेटमा विजय भुजेल र ८७ मिनेटमा रबि भण्डारीले गोल गरेका थिए।
यो खेलमा बागमतीका शिशिर लेखी म्यान अफ म्याच भए। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको खेलमा कार्डको वर्षा नै भएको छ। लिगको शीर्षस्थानको होडमा रहेका यी दुई टोलीको खेलमा रेफ्रीले ६ जनालाई पहेलो कार्ड देखाएका थिए।
एन्फामै उजुरी परेका रेफ्री प्रकाशनाथ श्रेष्ठले शनिबार एउटै खेलमा ६ जनालाई पहेलो कार्ड देखाए। सुदूरपश्चिमका ४ जनाले कार्ड पाउँदा लुम्बिनीका २ जनाले कार्ड खाएका थिए।
सुदूरपश्चिमका कुलदीप कार्की, चेतमान कठायत, सन्दीप कुँवर र रोशन पहरी तथा लुम्बिनीका चेतन चौधरी र क्षितिजराज जीटीले पहेलो कार्ड खाएका थिए।
अर्को बागमती र २ नम्बर प्रदेशको खेलमा रेफ्री श्याम दनुवारले एकजनालाई पहेलो कार्ड देखाएका थिए। २ नम्बर प्रदेशका बिपन श्रेष्ठले कार्ड पाएका थिए।
FACEBOOK COMMENTS