काठमाडौं, १० चैत – एन्फा प्रेसिडेन्ट लिगअन्तर्गत प्रदेश नम्बर-२ च्याम्पियन मनकामना युवा क्लब रौतहटले कर्णाली प्रदेश च्याम्पियन लेकाली युवा क्लब जुम्लालाई १–० ले पराजित गरेको छ ।
मनकामनाको तर्फबाट भुवन बस्नेतले ३७औँ मिनेटमा गोल गरेका थिए । उनले पेनाल्टी अवसरलाई सदुपयोग गरे । प्रतियोगितामा मनकामनाको पहिलो जित हो । लेकाली अहिलेसम्म जितविहीन छ ।
मनकामना यसअघिका तीन खेलमा पराजित भएको थियो । लेकालीले झापाको सैनिक युथ क्लबसँग १–१ को बराबरी खेलेको थियो । लेकालीले धादिङ समाजविरुद्धको खेल ९–१ ले र त्रिवेणी युवा क्लब लमजुङसँगको खेल २–१ गुमाएको थियो ।
प्रतियोगिता यही चैत १५ गतेसम्म चल्नेछ । सात प्रदेशका लिग च्याम्पियन क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । विजेताले १० लाख र उपविजेता टोलीले पाँच लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले यो प्रतियोगिता पहिलोपटक आयोजना गरेको हो । प्रतियोगिताको शीर्ष चार टोलीले राष्ट्रिय लिगमा प्रतिस्पर्धा गर्नेछन् ।
FACEBOOK COMMENTS