काठमाडौं– ग्रामीण तथा दुर्गम स्थानहरु साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै एन आई सी एशिया बैंकको नयाँ शाखा रोल्पाको लिवाङमा सञ्चालनमा आएको छ ।
रोल्पा जिल्ला, रोल्पा नगरपालिका वडा नं ४ स्थित लिवाङ शाखा यही भाद्र १३ गतेदेखि सञ्चालनमा आएको हो ।
बैंकले सञ्चालनमा ल्याएको यस लिवाङ शाखाकोे समुद्घाटन रोल्पा नगरपालिकाका मेयर पूर्ण केसीले गरेका हुन् ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर २९७ शाखा कार्यालयहरु, ३५० एटिएम, ५८ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।
बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशिकरणका लागि मुगु, कालिकोट, बझाङ, रोल्पा, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरुमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।
