काठमाडौं, मंसिर २९ – एप्पलले आफ्ना उपकरणमा आइओएसको नयाँ संस्करण सार्वजनिक गरेको छ। सिनेटका अनुसार एप्पलले सोमबार आइफोन र आइप्याडमा आइओएस १४.३ सार्वजनिक गरेको हो।
कम्पनीले आइओएसको यस संस्करणमा नयाँ फिचरहरु थपेको छ। अपडेट गरिएको सो आइओएसले एप्पलको नयाँ फिट्नेस सब्सक्रिप्सन सर्भिस एप ‘फिटनेस प्लस’ र नयाँ फोटो फरम्याट एप ‘प्रो–र फोटो’लाई सपोट गर्ने सिनेटले बताएको छ।
सोमबार नयाँ आइओएस सँगै सार्वजनिक भएको एप्पलको नयाँ एप ‘फिटनेस प्लस’ले व्यायाम गर्न सिकाउँछ र एप्पल घडी मार्फत प्रयोगकर्ताको स्वास्थ्य बारे रेकर्ड देखाउँछ। ‘फिटनेस प्लस’को सदस्यताको मूल्य प्रति महिना दश अमेरिकी डलर रहेको छ।
यसैगरी अर्को एप ‘प्रो–र फोटो’ले बिग्रिएका फोटो फाइललाई मिलाउन मिल्ने सुविधा दिन्छ। यस बाट प्रयोगकर्ताले फोटो इडिट गर्न सक्ने र फोनको फोटोग्राफी क्षमता पनि बढाइदिने सिनेटको भनाइ छ।
यी दुई एप विशेषगरी आइफोन–१२ प्रो र आइफोन–१२ प्रो म्याक्समा लागू हुने बताइएको छ।
आइओएस १४.३ डाउनलोड गर्न आइफोनको सेटिङमा गइ सफ्टवेयर अपडेट विकल्प क्लिक गर्नु पर्छ।
FACEBOOK COMMENTS